पशुपति क्षेत्रमा पार्किङ अब निःशुल्क

पशुपति क्षेत्रमा पार्किङ अब निःशुल्क

काठमाडौँ । पार्किङ शुल्क विवादसँगै बक्यौता रकमका कारण पशुपति क्षेत्रभित्रको बसपार्क निःशुल्क गरिएको छ । पार्किङ व्यवस्थापनको जिम्मा पाएको तत्त्व इन्भेस्टमेन्ट प्रा.लिले. ४१ लाख बढी बक्यौता रकम भुक्तान नगरेको र पार्किङ शुल्कमा समेत अनियमितता गरेको भन्दै पशुपति क्षेत्र विकास कोषले उक्त कम्पनीसँगको सम्झौता तोडेको हो ।

पार्किङ व्यवस्थापनमा व्यापक अनियमितता देखिएपछि टेन्डरवाला कम्पनीसँग सम्झौता रद्द गरी तत्कालका लागि पार्किङ निःशुल्क गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । उक्त बसपार्कमा अनियमितता मात्र नभई कानुनको समेत गम्भीर उल्लङ्घन देखिएको मन्त्री किरातीको भनाइ छ । 

‘पशुपतिनाथको बसपार्कमा अनियमितता र कानुनको गम्भीर उल्लङ्घन देखिएकाले सम्झौता भङ्ग गरिसकिएको छ । अर्को प्रक्रिया पुरा नहुँदासम्म पार्किङ निःशुल्क गरिएको जानकारी गराइन्छ,’ मन्त्री किरातीले सामाजिक सञ्जालमार्फत बताएका छन् ।

कोषले गत २१ गते नै तत्त्व इन्भेस्टमेन्टसँगको सम्झौता तोडेको हो । कोष र कम्पनीबीच पार्किङ व्यवस्थापनका लागि ५ वर्षको सम्झौता भएको थियो । तर, सम्झौता अनुसारको शुल्क नियमित रूपमा भुक्तान नगरिएपछि ठेक्का रद्द गरिएको कोषका डा.घनश्याम खतिवडाले बताए । 

‘कोषले लिनुपर्ने रकम ६० लाख रुपैयाँ हो । पटकपटक गरी कम्पनीले १९ लाख रुपैयाँ भुक्तानी गरेको छ । बाँकी ४१ लाख रुपैयाँ भुक्तानी गर्न पटकपटक ताकेता गर्दा समेत कम्पनी तयार नभएपछि ठेक्का नै रद्द गर्न बाध्य भएका हौँ,’ कार्यकारी निर्देशक खतिवडाले भने । 

कोषले कम्पनीसँग ५ वर्षका लागि ठेक्का सम्झौता गरेको थियो । तर, साढे २ वर्षमा नै विवादका कारण सम्झौता रद्द गर्न परेको उनले बताए । कम्पनीले तोकिएको पार्किङ शुल्क भन्दा बढी उठाइरहेको गुनासो समेत आएको निर्देशक खतिवडाले बताए । 

पशुपति क्षेत्र विकास कोषले दुई पाङ्ग्रे सवारी साधनका लागि १० रुपैयाँ र चारपाङ्ग्रे सवारीका लागि २५ रुपैयाँ पार्किङ शुल्क तोकेर कम्पनीसँग सम्झौता गरेको थियो । तर, कम्पनीले सो भन्दा बढी शुल्क उठाएको पाइएको निर्देशक खतिवडाले बताए । कम्पनीमाथि राजस्व अनुसन्धान विभागले समेत अनुसन्धान गरिरहेको छ । 

खबरपाटी
खबरपाटी