
काठमाडौं । नेकपा (एमाले)ं का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन हतारिन नपर्ने विचार व्यक्त गरेका छन्। दिवंगत संविधान सभा अध्यक्ष सुवास नेम्वाङको स्मृतिमा मंगलबार पार्टी कार्यालयमा आयोजित विचार गोष्ठीमा बोल्दै संविधान संशोधनका नाममा आयातित र प्रायोजित कुराहरू पनि देखिएकाले हतारिन नपर्ने धारणा राखेका हुन्।
एमालेले संविधान दिवसको पूर्वसन्ध्यामा नेपालको संविधान निर्माणमा सुवास नेम्वाङको भूमिका विषयक विचार गोष्ठी आयोजना गरेको थियो।
कार्यक्रममा बोल्दै उनले दुई पटक संविधान संशोधन भएको र तेस्रोपटक गर्दा एक(एक विषयमा नभइ धेरै विषय समेटेर गरिनुपर्ने पनि विचार राखे।
‘दुईपटक ९२०७२ मंसिर र २०७७ जेठ० मा संशोधन गरिसकेका छौं। एक(एकवटा मात्रै विषयमा हामीले संशोधन गर्यौं,’ उनले भने,‘तत्काल चाहिएका विषयमा मात्रै गर्यौं। अब संविधान संशोधन गर्दा हामीले अलिकति बढी व्यापक, तत्काल चाहिएको एउटामात्रै विषय होइन, केही विषयहरू जो राम्रै छलफल गरेर संविधान संशोधन गर्नुपर्ने हुन्छ। एउटा हिसाबले बेला भएको छ कि छैन भन्ने पनि छ। एउटा हिसाबले के लाग्छ भने अहिले पनि गम्भीरताभन्दा बढी भावना, सेन्टिमेन्ट छ। आफ्नै कुराहरू भन्दा प्रायोजित र आयातित कुराबाट दबाब दिने खालका प्रवृत्ति छन्। ती पनि देखिइरहेको र अनेक प्रकारका बेठीक उद्देश्यहरू पनि देखिइरहेको हुनाले तत्काल समुचित ढंगले संविधान संशोधन गर्न सकिन्छ कि सकिँदैन भनेरचाहिँ फेरि गम्भीर छ।त्यसकारण यसमा कुनै हतारो गरिहाल्नुपर्ने अवस्था छैन,’ उनले भने।
प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका ओलीले दलीय भावनाभन्दा माथि उठेर नेम्वाङले संविधान जारी गर्न भूमिका खेलेको बताए।
कतिपय शक्तिहरूले संविधान जारी नगर्न भनिरहेका बेला उनले आफ्नो काम कुशलतापूर्वक निर्वाह गरेको स्मरण गरे।
उनले नेम्वाङको राजनीतिक, कानुनी व्यक्तित्व निष्कलंक, खोटरहित रहेको पनि बताए। नेम्वाङ मृदुभाषी र निष्कपट रहेको पनि बताए।
कार्यक्रममा कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललगायतले नेम्वाङको स्मरण गरेका थिए।