बोल्न नसक्ने व्यक्तिले गरेका थिए चारै जनाको हत्या

बोल्न नसक्ने व्यक्तिले गरेका थिए चारै जनाको हत्या

काठमाडौं । तीनकुने गैरीगाउँमा शनिबार भएको सामूहिक हत्या प्रकरणमा एक जना पक्राउ परेका छन्। पक्राउ परेका व्यक्तिले नै चारै जनाको हत्या गरेको प्रहरीसामु बयान दिएका छन्। पक्राउ पर्नेमा बोलीसम्बन्धी अपांगता भएका (बोल्न नसक्ने) व्यक्ति भएको प्रहरीले स्रोतले जनाएको छ। 

घटनास्थल आसपासका सीसीटीभी फुटेज केलाउँदै जाँदा ती व्यक्ति पक्राउ परेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय स्रोतले जानकारी दिएको छ। सीसीटीभीमा देखिएको हुलियाका आधारमा ती व्यक्तिलाई पक्राउ गरिएको ती स्रोतको भनाइ छ। प्रहरीले उनको विवरण भने सार्वजनिक गरेको छैन।

गैरीगाउँ हत्या प्रकरणमा एक जना पक्राउ परेका छन्। उनीमाथि विस्तृत छानविन भइरहेको छ । 

हत्या छानविनका लागि राठौरको संयोजकत्वमा ५ सदस्यीय अनुसन्धान समिति गठन भएको थियो। समितिमा प्रहरी नायव उपरीक्षक हरि खतिवडा, प्रहरी नायव उपरीक्षक सुवास खड्का, प्रहरी नायव उपरीक्षक सुरक्षा केसी र प्रहरी निरीक्षक वीरेन्द्र केसी छन्।

शनिबार राति गैरीगाउँस्थित दिव्य सःमिलमा दुई महिला र दुई पुरुषको धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो। मिलका सुरक्षा गार्ड ५६ वर्षीय कुमार भुजेल, ५२ वर्षीया उनकी श्रीमती अम्बिका भुजेल, ७६ वर्षीया आमा शुभद्रा भुजेल र मोरङ बेलवारी स्थायी घर भएका २० वर्षीय नविन राईको हत्या भएको थियो। 

हत्या आशंकामा सोही रात प्रहरीले २८ वर्षीय दीपेन्द्र राईलाई नियन्त्रणमा लिएको थियो। लतपतिएको रगतसहित प्रहरी वृत्त पुगेका राईलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। राईले भने हत्याबारे जानकारी दिन आएको बताउँदै आएका छन्। 

खबरपाटी
खबरपाटी