काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक क्षेत्रमा युवाको सार्थक सहभागिताका लागि सरकारले रणनीतिक रूपमा काम गर्दै आएको बताएका छन् । नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन २०८० लाई शनिबार सम्बोधन गर्दै उनले नेपाली युवालाई स्वदेशमा नै भविष्य देखाउन सहुलियतपूर्ण कर्जा सहजीकरण, युवामैत्री लगानी वातावरण निर्माण, स्टार्टअप, नवप्रवर्तन र उद्यमशीलतालाई प्राथमिकतामा राखिएको बताए ।
आर्थिक वर्ष २०८०/८१ लाई सरकारले युवा उद्यमशीलता वर्षका रूपमा मनाउने घोषणा गरेको जानकारी दिँदै उनले यसबाट सकारात्मक परिणाम निकाल्न सकिने विश्वास व्यक्त गरे । प्रधानमन्त्री दाहालले सात दशक लामो सङ्घर्षपछि जारी भएको संविधानले शिक्षा, स्वास्थ्य र रोजगारीलाई नागरिकको मौलिक हकको रूपमा ग्यारेन्टी गरेको उल्लेख गरे ।
सरकारले सङ्घीय शिक्षा ऐन, सङ्घीय निजामती सेवा ऐनलगायत महत्वपूर्ण ऐन संसद्मा प्रस्तुत गर्ने निर्णय गरिसकेको छ, यी ऐनको निर्माणले संविधानप्रदत्त मौलिक हकको कार्यान्वयनसहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र कार्यान्वयन गर्न महत्वपूर्ण योगदान पुग्नेछ,ु उनले भने ।