काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि शनिबार न्यूओर्क जाँदैछन् । २१ सेप्टेम्बरमा संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा हुन लागेको संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी शनिबार त्यसतर्फ प्रस्थान गर्ने भएका हुन् ।
प्रधानमन्त्रीले संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । महासभामा ‘विश्वव्यापी एकताको पुनर्निर्माण विश्वास र पुनर्जागृत २०३० को एजेन्डा र यसको दिगो विकास लक्ष्य सबैका लागि शान्ति, समृद्धि, प्रगति र दिगोपनमा तीव्रता दिने’ विषयमा बहस हुनेछ ।
प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभाको उद्घाटन सत्रमा भाग लिनुका साथै १९ सेप्टेम्बरमा संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् ।
न्यूयोर्कमा हुँदा उनले संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्य शिखर सम्मेलन र जलवायु महत्त्वाकांक्षा शिखर सम्मेलन लगायतका कार्यक्रमलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ । त्यस्तै उनले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेससँग भेटवार्ता गर्नुका साथै विभिन्न देशका आफ्ना समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी छोरी गङ्गा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौड्याल र मन्त्रालयका अन्य वरिष्ठ अधिकारी रहेका छन् ।