काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेशले आर्थिक भार थपिने गरी मन्त्रालय नबढाउन आग्रह गरेको छ।
लुम्बिनी सभापति अमरसिंह पुनको अध्यक्षतामा बुधबार बेलुकी साँझ बसेको कांग्रेस लुम्बिनी प्रदेश कार्यसम्पादन समितिको बैठकले आर्थिक भार पर्ने गरी मन्त्रालयको संख्या नबढाउन निर्देशन गरेको छ।
लुम्बिनी प्रदेशमा हाल मन्त्रालय थप्नेबारे छलफल चलिरहेको भन्दै अहिलेको अवस्थामा मन्त्रालयको संख्या थप गर्दा आर्थिक भार थपिने र त्यसले नागरिक स्तरमा नकारात्मक प्रभाव पर्ने मुख्य सचिव मोहनराज शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
हाल विद्यमान मन्त्रालयको संख्या नबढाई यथास्थितिमा सरकारलाई पूर्णता दिन कांग्रेस नेता तथा प्रदेश मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई आग्रह गरिएको छ।संघीयतालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न संघीय सरकारले प्रदेश सरकारलाई संविधानले तोके अनुसारका अधिकार दिन पनि माग गरिएको छ।
कांग्रेसका सहमहामन्त्री तथा पूर्वमन्त्री महेन्द्र यादवमाथि भएको खुकुरी प्रहार भएको घटनाको निन्दा गर्दै दोषीलाई कारबाहीको माग गरिएको छ। संविधान सभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ लगायत विभिन्न घटनामा ज्यान गुमाउनेहरूप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरिएको छ।