हेटौंडामा डाक्टरमाथि कुटपिट गर्ने चार जना पक्राउ

हेटौंडामा डाक्टरमाथि कुटपिट गर्ने चार जना पक्राउ

काठमाडौं । हेटौंडा उपमहानगरपालिका-२ स्थित सन्चो अस्पतालका दुई चिकित्सकमाथि कुटपिट भएको घटनामा चार जना पक्राउ परेका छन्। 

जिल्ला प्रहरी कार्यालय मकवानपुरले कुटपिट गरेको घटनामा संलग्न रहेको आरोपमा मृतककी श्रीमती रमा प्रधान र छोरी रमिता प्रधान छोरा रोहित, भतिजा अनुपलाई पक्राउ गरेको प्रहरी उपरीक्षक (एसपी) सीताराम रिजालले जानकारी दिए।

बुधबार बिहान १० बजे हेटौंडाको सन्चो अस्पतालमा उनीहरूसहित केही व्यक्तिहरूले दुई जना चिकित्सकमाथि कुटपिट गरेका थिए। सञ्चो अस्पतालमा कार्यरत डा.विकास थापा र डा. प्रशान्त विडारीमाथि कुटपिट भएको हो। अहिले उक्त भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको छ।

पीडितले बिहीबार जाहेरी दिने तयारी गरेको छ। 

गत साउन २५ गते हेटौंडा-१२, पदमपोखरीका ४२ वर्षीय राजेश प्रधानको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो। राजेशलाई डेंगीका कारण निमोनियाको समस्या देखिएको थियो।सुरूमा उनलाई साउन २२ गते सन्चो अस्पतालमै लगिएको थियो। 

स्वास्थ्य अवस्था गम्भीर देखिएपछि चिकित्सकले बिरामीलाई आइसियूमा राखेर उपचार गर्न सुझाव दिएका थिए। तर आफन्तले वार्डमा राखेर उपचार गर्ने कुरा गरेको चिकित्सकको भनाई छ। पछि हेरचाह राम्रो हुने भन्दै बिरामीलाई एचडियूमा राखिएको थियो। 

तर उपचारको पहिलो रातमै बिरामीको अवस्था थप जटिल भएपछि साउन २३ गते उनलाई चितवन मेडिकल कलेज रिफर गरिएको थियो। त्यहाँ उपचारको क्रममा मृत्यु भएको हो। 

राजेशको मृत्यु भएपछि पीडितका आफन्त भोलिपल्टै सन्चो अस्पतालमा पुगेका थिए। तर बिरामीको अवस्थाबारे जानकारी गराएपछि उनीहरू फर्किएका थिए। त्यसैबीच बुधबार मृतकका आफन्तले दुई चिकित्सकमाथि कुटपिट गरेका हुन्। 

खबरपाटी
खबरपाटी