परराष्ट्रमन्त्री साउद राष्ट्रसङ्घको महासभामा सहभागी हुन न्यूयोर्कमा

परराष्ट्रमन्त्री साउद राष्ट्रसङ्घको महासभामा सहभागी हुन न्यूयोर्कमा

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन नेपालका परराष्ट्रमन्त्री नारायणप्रसाद साउद न्यूयोर्क पुगेका छन्। मन्त्री साउदलाई राष्ट्रसङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापा, न्यूयोर्कस्थित नेपाली कन्सुलेट जनरल विष्णु गौतमलगायतका अधिकारीले स्वागत गरे।

न्यूयोर्कस्थित नेपाली नियोगले दिएको जानकारीअनुसार परराष्ट्रमन्त्री साउदले आजदेखि राष्ट्रसङ्घको विभिन्न फोरममा सहभागिता जनाउनेछन्। गत सेप्टेम्बर ५ देखि सुरु भएको वार्षिक महासभामा विश्वभरका उच्चस्तरका नेताले सेप्टेम्बर १९ तारिखदेखि सम्बोधन गर्ने कार्यतालिका रहेको छ। 

यसपटकको महासभालाई नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी असोज ४ गते सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ। यसपटक विश्वभरका नेताहरुले ुसद्भावको पुनःनिर्माण प्रारम्भ र विश्वव्यापी ऐक्यबद्धता स् सन् २०३० को एजेण्डाको द्रुगतिमा कार्यान्वयन र यसको दिगो विकास लक्ष्यतर्फ शान्ति, समृद्धि, प्रगति र सबैका लागि दिगोपनु भन्ने मूल नारा तय गरिएको छ।

यही सिलसिलामा सेप्टेम्बर १८ र १९ तारिखको दिन दिगो विकाससम्बन्धी सम्मेलन हुनेछ। २० तारिखको दिन विकासका लागि वित्तीय परिचलानका विषयमा उच्चस्तरीय संवाद हुनेछ। 

सोही दिन जलवायु परिवर्तनसम्बन्धी सम्मेलनसमेत हुनेछ। यस सम्मेलनमा राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुर्टोसले विश्वभरबाट महासभामा भाग लिन आएका सरकारी, गैरसकारी, व्यावसायिक, नागरिक समाजका प्रतिनिधिलाई जलवायु असरका बारेमा सम्बोधन गर्नेछन्।

यसैगरी २० तारिखकै दिन महामारी नियन्त्रण, पूर्वतयारी र उत्तरदायी विषयमा समेत छलफल हुने कार्यक्रम रहेको छ। राष्ट्रसङ्घले दिएको जानकारीअनुसार यसपटकको महासभामा मुख्य कार्यक्रममा भविष्यका लागि मन्त्रिस्तरीय सम्मेलन, युनिभर्सल हेल्थ कभरेज, क्षयरोगविरुद्धको लडाईंका विषयमा छलफल हुने जनाइएको छ। यी कार्यक्रममा नेपालले मन्त्रिस्तरीय, प्रधानमन्त्रीस्तरीयरुपमा सहभागिता जनाउनेछ। 

खबरपाटी
खबरपाटी