मकवानपुर । पछिल्लो २ महिनादेखि बागमती प्रदेशसभा बैठक बस्न सकेको छैन । गत असार २२ मा प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८०र०८१ को बजेट पारित गरे लगत्तै स्थगित गरिएको प्रदेशसभा बैठक बस्न नसकेको हो ।
पछिल्लो समय सत्तापक्ष र प्रतिपक्षको आन्तरिक सम्झौतामा विवाद हुँदा बैठक बस्न सकेको छैन । सरकार र प्रतिपक्ष दलहरू बीचको आन्तरिक समस्या प्रदेशसभा बैठकमा पोखिएपछि सदन बस्न सकसपूर्ण भएको हो ।
सरकारसँगको सम्झौता कार्यान्वयनको माग गर्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र राप्रपाको चेतावनीका कारण सदन सञ्चालनमा आउन सकेको छैन भने सरकार आश्वासनमा मात्र केन्द्रित छ । सदन सञ्चालनका लागि सरकारले उनीहरूको मागका विषयमा सरकार सकारात्मक रहेको बताउँदै आएको छ भने विपक्षी दलहरू कार्यान्वयनको चरणमा नगएसम्म सदन चल्न नदिने अडानमा रहेका छन् । सोही कारण प्रदेशसभा बैठक आह्वान भएर पनि बस्न सकिरहेको छैन ।
प्रदेशसभा बैठक सरकारको सिफारिस अनुसार बागमती प्रदेशसभा सचिवालय हेटौँडाले भदौ गत १८ गतेका लागि आह्वान गरेको थियो । दिउँसो १ः३० बजेका लागि आह्वान गरिएको उक्त बैठक बस्न नसकेपछि सोही दिन ४ बजेका लागि सारिएको थियो । ४ बजे आह्वान गरिएको बैठक पनि विपक्षी दलको अडान पछि बस्न सकेन र सूचना टाँस गरेर भदौ २० गते १ बजेका लागि बोलाइएको थियो ।