अहिले विदेशी मुद्राको सञ्चिति काफी छः अर्थमन्त्री

अहिले विदेशी मुद्राको सञ्चिति काफी छः अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकार आर्थिक गतिविधि चलायमान बनाउन बाधक बनेका समस्या समाधान गर्नतर्फ लागिरहेको बताएका छन् । 

शनिवार काठमाडौंमा भएको नेपाल आर्थिक पत्रकार समाजको २५ औं साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले देशको आर्थिक अवस्थालाई सुधार गर्न सबैले आफ्नो आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए । उनले अहिले नेपालमा पर्यटकको चाप बढीरहेको र विदेशी मुद्राको सञ्चिति पनि पर्याप्त रहेको बताए । उनले आर्थिक अवस्थालाई चलायमान बनाउन बाधक कुराको समाधान गर्न सरकार लागिरहेको बताए । गत वर्षको तुलनामा राजश्व पनि वृद्धि भइरहेको बताए । 

उनले भने, ‘राज्य संयन्त्रसहित जस जसले जुन जुन ठाउँबाट सहयोग गर्नुपर्ने हो त्यहाँबाट सहयोग अपेक्षा गर्नुभएको छ । स्वभाविक हो, सहजीकरण हुन्छ । अहिले पर्यटकको फ्लो बढीरहेको छ । हाम्रो विदेशी मुद्राको सञ्चिति काफी छ । अरु आर्थिक गतिविधि अघि बढाउनको लागि जुनखाले लिमिटेशन वा समस्याहरु छन्, ती समस्यालाई समाधान गर्नेतर्फ हामी लागिरहेका छौँ । आगामी दिनमा अर्थतन्त्र पोजिटिभ स्थितिमा जान्छ । राजश्व पनि पोहोर सालको तुलनामा प्रगतिमा छौँ । आउने दिनमा झनै प्रगति हुने विश्वास छ ।’

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महसंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले लिने सुझावलाई बेवास्ता गर्दा र कार्यान्वयन नगर्दा देशको अर्थतन्त्र अहिलेको अवस्थामा आएको बताए । उनले अर्थतन्त्रबारे नकारात्मक टिप्पणी मात्रै गरेर पनि लगानी कर्ताहरुको मनोबल खस्किएको बताए । उनले सरकारी निकायबीच समन्वयको कमी हुँदा पनि अर्थतन्त्रमा धेरै असर परिरहेको बताए । 

उनले भने, ‘निजी क्षेत्रले लिने सुझावलाई कता कता आफ्नो फाइदाका लागि मात्र माग्ने गरेको छ भन्ने भाष्यबाट दिएको सुझावलाई कार्यान्वयन गर्न नखोज्दा र नगर्दा अहिलेको अवस्था आएको जस्तो मलाई लाग्छ । कोरोनाका कारण, श्रीलंका हुन्छ देश भन्ने चाहिने भन्दा बढी त्रास देखाउँदा यो अहिलेको अवस्था आएको हो भन्ने निजी क्षेत्रको बुझाइ छ । निजी क्षेत्रको सुझावलाई कुनै एक व्यक्तिको सोचाइ हो भन्नेकुराबाट बाहिर आउनुपर्छ । राजश्व नउठ्ने, कमी आउने कुरा पनि निजी क्षेत्रले दिएको सुझाव कार्यान्वयन नहुँदा हो की जस्तो लाग्छ । सरकारी निकायबीच समन्वयको कमी हुँदा पनि समस्या आएको छ । राज्यका सरोकारवाला निकायहरुले राज्यको जिम्मेवारीलाई बुझेर अघि बढ्न सकिएन भने सबै राज्को नतिजा असफल हुन्छ ।’

कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकको अर्थतन्त्र अहिले खस्किएकै अवस्थामा रहेको दाबी गरे । उनले अर्थतन्त्रलाई सही ट्रयाकमा लैजान नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, बीमा प्राधिकरण लगायतका रेगुलेटरले गरेका निर्णयहरुलाई सरकारले सच्याउनुपर्ने बताए । 

उनले भने, ‘हाम्रो मुलुकको अर्थतन्त्र अहिले जुन किसिमले निश्चित रुपमा खस्किएकै अवस्थामा छ । यसलाई सही ट्रयाकमा लैजान सबै मिल्नुपर्छ । नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, बीमा प्राधिकरणले आवश्यक पहल लिन नसक्दा अर्थतन्त्र चलायमान बन्न सकेको छैन । यो क्षेत्रबाट राम्रोसँग नियालेर विज्ञको कुरा सुनेर अघि बढेर जाने हो भने अर्थतन्त्र चलायमान हुन्छ । रेगुलेटरले गरेका कतिपय डिसिजनको कुरा सच्याउन आग्रह गर्छु । कर्जा प्रवाह दर नै घटाउनुपर्छ । त्यो घटन सकेको छैन । बेस रेटमा लिने प्रिमियम (कर्जा)मा पक्षपाती भएको छ ।’ 

उनले आम जनता र लगानी कर्तामा आत्मविश्वासको कमी हुँदै गएको बताए । उनले सरकारले निजी क्षेत्रको आत्मबल बढाउने गरी काम गर्नुपर्ने बताए ।

खबरपाटी
खबरपाटी