प्रधानमन्त्री दाहाल आफैँ मुलुकमा सामाजिक सद्भाव भड्काउने कार्यमा संलग्न छन्ः एमाले

प्रधानमन्त्री दाहाल आफैँ मुलुकमा सामाजिक सद्भाव भड्काउने कार्यमा संलग्न छन्ः एमाले

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले जातीय पहिचानको आधारमा सबै प्रदेशको नामाकरण गर्ने प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । 

मंगलवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्री दाहालको सो अभिव्यक्ति संविधान विपरित र मुलुकमा जातीय हिंसा भड्काउने गरी आएको भन्दै आपत्ति जनाउनुभएको हो । प्रधानमन्त्री दाहालको सो भनाई आफ्नो पार्टीलाई स्वीकार्य नहुने बताउँदै उहाँले सो अभिव्यक्तिप्रति निन्दा र भत्र्सना समेत गर्नुभयो । प्रमुख सचेतक गिरीले आपसमा मिलेर बसेका नेपाली समुदायलाई भडकाउने, आपसी विद्वेष फैल्याउने, मुलुकलाई अराजकतातर्फ लैजाने काममा प्रधानमन्त्री दाहाल आफैँ संलग्न गरेको आरोप समेत लगाउनु भयो । 

उहाँले भन्नुभयो, ‘पछिल्लो समय सम्माननीय प्रधानमन्त्रीज्युले जुन प्रकारले अभिव्यक्तिहरु दिनुभएको छ । म जातीय राज्यको पक्षमा छु । तपाईहरु जाग्नुस्, उठ्नुस् । तपाईहरुले मलाई बल दिनुपर्ने बेला आएको छ । बल दिनुस् । म यो मुलुकमा जातीय राज्य स्थापित गर्छु । हाम्रो पार्टीलाई बहुमत दिनुस् । म यो देशमा जातीय राज्य स्थापित गराई छोड्छु जस्ता अभिव्यक्तिहरु निरन्तर रुपमा दिँदै आउनुभएको छ । यो अभिव्यक्ति असंवैधानिक त छँदैछ । सँगसँगै मुलुकमा मिलेर बसेका दाजुभाईबीच आपसमा विद्वेष फैल्याउने र मुलुकमा हिंसा भड्काउने, देशमा अराजकताको स्थिति सृजना गर्ने र मुलुकमा त्रादसीपूर्ण स्थिति सृजना गर्ने काममा स्वयम् प्रधानमन्त्रीले मलजल गर्ने काम गरिरहनुभएको छ ।

देशको प्रधानमन्त्रीजस्तो जिम्मेवार पदमा बसेको व्यक्ति यसरी आपसी दाजुभाईहरुको बीचमा विद्वेष र घृणा फैल्याउने काम यो कुनैपनि हालतमा स्वीकार्य छैन सभामुख महोदय । यसमा हामी गम्भिरतापूर्वक आपत्ति व्यक्त गर्न चाहन्छौं । र, यो भनाईको निन्दा पनि गर्न चाहन्छौँ सभामुख महोदय ।’
प्रमुख सचेतक गिरीले सरकारले सुशासन कायम गर्ने भनेपनि त्यस अनुसारको काम गर्न नसकेको जिकिर समेत गर्नुभयो । 

खबरपाटी
खबरपाटी