प्रतिनिधि सभाका १० वटै संसदीय समितिले पाए नेतृत्व

प्रतिनिधि सभाका १० वटै संसदीय समितिले पाए नेतृत्व

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचित भएको नौ महिनापछि १० वटा संसदीय समितिका सभापति निर्वाचित भएका छन् । मिनि पार्लियामेन्ट समेत भनिने समितिमा सत्ता र प्रतिपक्षबीचको भागवण्डाअनुसार निर्विरोध सभापति चयन भएका हुन् ।

जसमा नेपाली कांग्रेसबाट तीन, नेकपा (एमाले)बाट दुई, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) र जनमत पार्टीबाट एक-एक समिति सभापति पाएका छन् ।

कांग्रेसबाट कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा डा.आरजु राणा, अर्थ समितिको सभापतिमा सन्तोष चालिसे र राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा रामहरि खतिवडा निर्विरोध चयन भएका छन् ।

एमालेबाट महिला तथा सामाजिक मामिला समितिको सभापतिमा किरणकुमार साह र सार्वजनिक लेखा समितिको सभापतिमा ऋषिकेश पोखरेल चुनिएका छन् ।

यस्तै, नेकपा (माओवादी केन्द्र)बाट कानून, न्याय तथा मानवअधिकार समितिको सभापतिमा विमला सुवेदी, जसपाबाट अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा राजकिशोर यादव, नेकपा एसबाट शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा भानुभक्त जोशी, राप्रपाबाट पूर्वाधार विकास समितिको सभापतिमा दीपकबहादुर सिंह र जनमतबाट उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिका अब्दुल खान सभापति बनेका हुन् ।

खबरपाटी
खबरपाटी