उद्योग तथा वाणिज्य समिति सभापतिको निर्वाचन आज हुँदै

उद्योग तथा वाणिज्य समिति सभापतिको निर्वाचन आज हुँदै

प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको निर्वाचन सोमबार हुँदै छ।

उद्योग तथा वाणिज्य समितिमा सत्ता साँझेदार र प्रमुख प्रतिपक्षी दलका साझा उम्मेदवार जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुलीबीच प्रतिस्पर्धा हुँदै छ। अरू ९ वटा विषय गत समितिका सभापति भने निर्विरोध निर्वाचित भइसकेका छन्।

उद्योग तथा वाणिज्य समितिमा प्रस्तावकहरूले प्रस्तुत गर्ने र समर्थकहरूले प्रस्तावमा समर्थन जनाएपछि मतदान हुने छ।

आइतबार कांग्रेसबाट अर्थ समितिमा सन्तोष चालिसे, राज्य व्यवस्था तथा सुशासन समितिमा रामहरि खतिवडा र कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा आरजु राणा देउवाले उम्मेदवारी दिएका थिए। एकल उम्मेदवारी परेका कारण तीनै जना निर्विरोध सभापति चयन भएका छन्।

त्यस्तै नेकपा (एमाले)बाट सार्वजनिक लेखा समितिमा ऋषिकेश पोखरेल र महिला तथा सामाजिक मामिला समितिमा किरणकुमार साहको उम्मेदवारी परेको थियो। उनीहरू पनि निर्विरोध चयन भइसकेका छन्।

जनता समाजवादी पार्टीबाट राजकिशोर साहले अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा उम्मेदवारी दिएका छन् भने शिक्षा तथा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा नेकपा (एकीकृत समाजवादी) का भानुभक्त जोशी उम्मेदवार बनेका छन्। नेकपा (माओवादी केन्द्र) ले कानून, न्याय तथा मानवअधिकार समिति पाएको छ। जसमा विमला सुवेदी उम्मेदवार बनेकी छिन्। उनीहरू पनि निर्विरोध सभापति चुनिइसकेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीले भागबण्डामा पूर्वाधार विकास समिति पाएको छ।  

उक्त समितिमा राप्रपाबाट दीपक सिंह निर्विरोध चुनिए। राप्रपालाई समिति सभापति दिने क्रममा कोशी प्रदेश सरकार गठनका विषयमा समेत सहमति बनेको बताइएको छ। 

संसदीय समितिहरूले कानून निर्माणका साथसाथै सरकारका काम कारबाहीको निगरानी गर्ने गर्छन्। प्रधानमन्त्रीदेखि मन्त्रीहरूलाई डाकेर समितिहरूले प्रष्टीकरण लिन पाउँछन् भने सरकारको कामको निगरानी गर्ने गर्छन्।

खबरपाटी
खबरपाटी