एकीकृत समाजवादीको छायाँले गर्दा सर्वदलिय बैठकमा एमाले आएनः माधव नेपाल

एकीकृत समाजवादीको छायाँले गर्दा सर्वदलिय बैठकमा एमाले आएनः माधव नेपाल

नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एकीकृत समाजवादीको छायाँका कारण राष्ट्रपतिले बोलाएको सर्वदलिय बैठकमा नेकपा (एमाले) नगएको बताउनुभएको छ । 

मंगलवार पार्टीको केन्द्रिय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एकीकृत समाजवादीको छायाँ परेकाले एमाले राष्ट्रपतिले बोलाएको सर्वदलिय बैठकमा नगएको बताउनुभएको हो । उहाँले माधव नेपालको छायाँ बैठकमा परेकाले एमालेका नेताहरु अनुपस्थित भएका बताउनु भयो । उहाँले आफूहरुसँग त्यस्तो संकिर्णता र सानो चित्त नभएको भन्दै साझा विषयवस्तुहरुमा सबैसँग हातेमालो गर्दै अघि बढ्न चाहेको बताउनु भयो । उहाँले आफूहरुसँग न्युनतम संस्कार र सस्कृति रहेको उल्लेख गर्नुभयो । अध्यक्ष नेपालले आफ्नो मनमा नेपाली समाजलाई मुक्ति दिलाउने र नेपालमा समाजवादलाई कसरी साकार पार्न सकिन्छ भन्ने सोच र चिन्तनमात्र रहेको बताउनु भयो । 

उहाँले भन्नुभयो – ‘आज एउटा बैठक राष्ट्रपतिले बोलाउनु भएछ । राष्ट्रपतिले बोलाएको सर्वदलिय बैठकमा हाम्रो पार्टीको तर्फबाट म पनि गएको थिएँ । थाहा छैन मलाई के कारणले हो एमालेका नेताहरु आएनन् । सम्भवतः त्यहाँ माधव नेपालको छायाँ, एकीकृत समाजवादीको छायाँ परेको हुनाले होला आउने काम भएन । हामीमा त्यस्तो संकिर्णता छैन । हामीमा त्यस्तो किसिमको सानो चित्त पनि छैन । हामी सबैसँग साझा विषयवस्तुहरुमा हातेमालो गर्दै अघि बढ्न चाहन्छौँ । राष्ट्रको सरोकारका विषयहरु, जनताको सरोकारका विषयहरु, समाजका सरोकारका विषयहरुमा हामी विचार मिल्नेहरुसँग, हाम्रा धारणा मिल्नेहरु सँग, अडान मिल्नेहरुसँग हामी हातेमालो गर्दै अघि बढ्न चाहान्छु ।

हामी न्युनतम संस्कार कायम राख्छौँ । र त्यो नेपाली संस्कृतिलाई अवलम्वन गर्छौं । अरुको मानमर्दन गर्दैनौँ । अरुको अपमान हामी गर्दैनौँ । अरुको तेजोबध गर्दैनौँ । हामी अरुलाई धारे हात लगाएर मात्रै अनि चलेपछि मात्रै राम्रो हुन्छ भनेर मनलाई सन्तोष पनि दिँदैनौँ । हाम्रो दिमागमा यो समाजको परिवर्तनको कुरा छ । हाम्रो मनमा नेपाली जनतालाई मुक्ति दिलाउने कुरा छ । हाम्रो सोचमा कसरी नेपालमा समाजवादलाई साकार पार्न सकिन्छ भन्ने सोच छ । चिन्तन छ ।’  

अध्यक्ष नेपालले तत्कालिन नेकपा९एमाले०बाट बिद्रोह गर्नु उचित र जायज भएको बताउनु भयो ।। उहाँले आजसम्मका घटनाक्रमहरुले आफूहरुले विगतमा गरेको बिद्रोह जायज थियो भन्ने कुरालाई बारम्बार पुष्टि हुँदै आएको बताउनु भयो । जुनसुकै कोणबाट हेर्दा पनि बिद्रोह जायज भएको उहाँले जिकिर गर्नुभयो । 
उहाँले भन्नुभयो – ‘त्यसबेलामा हामीले तत्कालिन पार्टी नेकपा९एमाले०बाट बिद्रोह गरेर अत्यन्तै उचित काम गरेका थियौँ । र त्यो बिद्रोह जायज थियो । औचित्यपूर्ण थियो । यस कुरामा हामी विश्वस्त हुनुपर्दछ भन्ने कुरामा म जोड दिन चाहन्छु । अहिलेसम्मका घटनाक्रमहरुले, अहिलेसम्मका सबै काम, क्रियाकलापहरुले, राष्ट्रिय राजनीतिले सामना गरेका अनेकौँ चुनौतिका घटनाक्रमहरुले हामीले त्यो चालेको कुरा ठिक थियो भन्नेकुरालाई बारम्बार पुष्टि गर्दै आएको छ । कसैकसैले औचित्यको पुष्टि गर्नका लागि निर्वाचनमा धेरै सिट जितेर अनि अर्कोलाई सानो बनाएर हामीले ठूलो बनेको भए हुन्थ्यो भन्ने पनि लाग्न सक्दछ ।

कसैकसैलाई त्यस्तो परेको पनि हुन सक्दछ । पहिले हामी केन्द्रिय कमिटीका सदस्यहरु, हामी नेतृत्वदायी तहमा भएका नेताहरु त्यस बारेमा प्रष्ट छौँ कि छैनौँ ? जिल्ला कमिटीकाले के भन्छन् ? प्रदेश कमिटीकाले के भन्छन् ? जनवर्गिय संगठनकाले के भन्छन् ? त्यो महत्वपूर्ण कुरा होइन । हामी के भन्छौँ ? हाम्रो दिमागमा के छ ? हामी त्यसमा विश्वस्त छौँ कि छैनौँ ? सबभन्दा पहिलो प्रश्न यहाँ रहेको छ । हामी विश्वस्त छौँ भने अरुलाई विश्वस्त बनाउँछौँ । हामी औचित्यपूर्ण देखिरहेका छौँ भने अरुलाई पनि औचित्यपूर्ण रहेको छ भन्ने कुरालाई पुष्टि गर्नसक्छौँ । जुनसुकै कोणबाट हेर्दाखेरी पनि त्यसबेलामा हामीले गरेको बिद्रोह गरेको कुरा एकदम जायज थियो ।’

उहाँले बिद्रोह औचित्यपूर्ण रहेको कुरामा स्पष्ट हुन केन्द्रिय सदस्यहरुलाई आग्रह गर्नुभयो । केन्द्रिय सदस्यहरु विश्वस्त भएमा तल्ला कमिटी र नेताहरुलाई पनि विश्वस्त बनाउन सकिने उहाँको भनाई छ ।
 

खबरपाटी
खबरपाटी