काठमाडौँ । संसदमा जारी गतिरोध अन्त्य गर्नका लागि आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलका नेताहरुको सर्वदलीय बैठक राखेका थिए ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा राखिएको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको समयमा बैठक सुरु गरिएपनि ओली नै नआएपछि बैठक सोमबार भोलिका लागि पुनः बोलाइएको माओवादी संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।
पाण्डेले भने–‘राष्ट्रिय दलका सबै नेताहरुको सहभागितामा बैठक प्रधानमन्त्रीको कार्यालयमा भएको छ । बैठकमा जसरी भएपनि संसद् सुचारु हुनुपर्छ भन्ने स्पिरिटका साथ छलफल भएको छ । प्रमुख प्रतिपक्षी दलका नेताले साढे १२ बजे आउँछु भनेकाले त्यही समयमा बैठक बोलाएका थियौँ तर उहाँ आउनुभएन, सुवास नेम्वाङ र पदम गिरी आउनुभएको थियो । संसद् खोल्ने विषयमा बैठक सकारात्मक भएकोले निर्णयमा पुग्न ओलीजीसँगपनि छलफल गर्नुपर्ने भएकोले भोलिका लागि बैठक गर्ने तय भएको छ ।’