एकीकृत समाजवादीको पोलिट्ब्युरो बैठक आज बाट सुरू

एकीकृत समाजवादीको पोलिट्ब्युरो बैठक आज बाट सुरू

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को पोलिटब्युरो बैठक आज (आइतबार)बाट सुरू हुँदै छ।

बैठक पार्टी कार्यालयमा बिहान ११ बजेबाट सुरू हुने स्थायी कमिटी सदस्य तुलबहादुर गुरूङले जानकारी दिए।

‘आज र भोलि (आइतबार र सोमबार) पोलिटब्युरो बैठक बस्दै छ। पार्टी कार्यालयमा बस्ने बैठकमा अहिलेको समसामयिक परिस्थिति र हाम्रो कार्यभारबारे छलफल हुने छ। त्यस्तै राजनीतिक प्रतिवेदन, महाधिवेशनबारे छलफल हुने छ,’ उनले भने।

बैठकमा पार्टीको राजनीतिक, वैचारिक कार्यदिशा, समाजवादी मोर्चाबारे पनि छलफल हुने बताइएको छ। त्यस्तै सांसद र सरकारमा पार्टीका तर्फबाट सहभागी भएकाहरूको कामको समीक्षा हुने नेताहरूले जानकारी दिएका छन्।

एकीकृत समाजवादीमा पछिल्लो समय पार्टी राजनीतिक कार्यदिशामा मतभेद देखा परेको छ। असार २९ देखि साउन ५ गतेसम्म चलेको सचिवालय बैठकले पार्टीको राजनीतिक कार्यदिशाका रूपमा जनताको बहुदलीय जनवादको सान्दर्भिकता रहेको र यसलाई समाजवादी आन्दोलनको रूपमा विकास गर्नुपर्ने निष्कर्ष निकालेको थियो।

साउनको २० र २१ गते बसेको पार्टी स्थायी कमिटीको बैठकमा पनि यसबारे बहस भएको थियो। पार्टीका सम्मानित नेता झलनाथ खनालले जनताको बहुदलीय जनवादको सान्दर्भिकता नरहेको वैज्ञानिक समाजवादी कार्यदिशा अंगीकार गर्नुपर्ने धारणा राखेका थिए। उनले पार्टी उल्टो पिरामिणको ढाँचामा गएको, कार्यकर्ताभन्दा नेता धेरै हुने र माथि दस टाउके रावणजस्तो तल सुक्दै गएको आकारको संरचना चल्न नसक्ने बताएका थिए।

२०७८ भदौ २ गते एमालेबाट विभाजन भएर पार्टी बनेको तर त्यतिबेलाको विद्रोहको औचित्य पुष्टि हुन नसकेको भन्दै प्रश्न उठाएका थिए।

एकीकृत समाजवादीको केन्द्रीय कमिटी भदौ ५, ६, ७ गते बालकुमारीमा बस्ने छ। सचिवालय, स्थायी कमिटी र पोलिटब्युरोमा भएका छलफल, उठेका विषयलाई एकीकृत गरेर केन्द्रीय कमिटीमा लैजाने पार्टीको तयारी छ।

  

खबरपाटी
खबरपाटी