काठमाडौँ । लामो समयदेखि संसद् बैठक अवरुद्ध भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन् ।
प्रमुख प्रतिपक्षी दल एमालेले लामो समयदेखि बैठक अवरुद्ध गर्दै आएपछि पटक–पटक चासो देखाउँदै आएका राष्ट्रपतिले केही दिनभित्रै संसद्मा प्रतिनिधित्व गर्ने दलको बैठक बोलाउने तयारी गरेका हुन् ।
‘संसद् बैठक अवरुद्ध भएपछि जनतामा नैराश्यकता देखिने र संसद्प्रति जनतामा नकारात्मक भावना आउने भन्दै राष्ट्रपति चिन्तित हुनुहुन्छ’ राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले लोकान्तरसँग भने, ‘संसद्को विषयमा राष्ट्रपतिले केही नेतासँग पनि परामर्श गर्नुभएको छ । यसैले एक दुई दिनमै संसद्मा रहेका दलहरूको बैठक बोलाउने तयारी भएको छ । दिन पक्का भइसकेको छैन ।’
पौडेलले बुधवार प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीसँग भेट गरेका थिए । सुन काण्डमा उच्चस्तरीय समिति गठनको माग गर्दै एमालेले १० साउनयताका सबै संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।
तर सत्ता गठबन्धनले सुन काण्डको छानबिन सीआईबीले नै गर्ने बताउँदै आएका छन् ।
संसद्मा कांग्रेस, एमाले, माओवादी, रास्वपा, राप्रपा, जसपा, नेकपा एस, जनमत, नागरिक उन्मुक्ति, लोसपासहितका दल छन् ।