सुन प्रकरणमा थप ४ जना चिनियाँलाई सिआइबीले गर्यो पक्राउ, म्याद थप्न लगियो अदालत

सुन प्रकरणमा थप ४ जना चिनियाँलाई सिआइबीले गर्यो पक्राउ, म्याद थप्न लगियो अदालत

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद भएको सुन प्रकरणमा थप ४ जना पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले ४ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुवेर कडायतले जानकारी दिए। 

पक्राउ पर्नेमा टियान मी, वेन टोंग, डिंग सेग्फा र ली नेङकाई छन्। 

उनीहरूलाई म्याद थपका लागि बुधबार काठमाडौं जिल्ला अदालतमा लगिएको छ।

योसँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या २१ पुगेको छ।

गत साउन २ गते विमानस्थलको भन्सार कार्यालयबाट छुटेको ब्रेक शुभित्र रहेको सुन सिंनामंगलबाट बरामद भएको थियो। उक्त सुन लामो समयसम्म टक्सार महाशाखामा राखिएको थियो। 

मंगलबार सुन गालेर जोख्दा ६० किलो ७ सय १६ ग्राम भएको थियो। 

सुरूमा राजश्व अनुसन्धान विभागले अनुसन्धान गरेको यो प्रकरणमा पछि सिआइबीले अनुसन्धान गरिरहेको छ। 

बेल्जियन नागरिक दावा छिरिङ, नरेश भन्ने सुरेन्द्र तामाङ, भन्सार अधिकृत सन्तोष चन्द, खरिदार एवं जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ पक्राउ परेका छन्।

उनीहरूको कार्य(सम्पादनमा लापरबाही देखिएको भन्दै भन्सार विभागले निलम्बन गरेको थियो। पछि उनीहरूलाई राजस्व अनुसन्धान विभागले पक्राउ गरेको हो।

त्‍यस्तै, भन्सार एजेन्टहरू यादवशंकर पराजुली, सुदर्शन गौतम, ग्लोबल प्रालिका सञ्चालक पुष्करराज भट्ट, कृष्ण श्रेष्ठ, राजन श्रेष्ठ, ट्याक्सी चालक अशोक लामा, भन्सार एजेन्ट राजेन्द्र राई, रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, उनका मामा रामकुमार भुजेल, हर्कराज राई, भारतीय नागरिक थाप्तेन छिरिङ र चिनियाँ नागरिक लिन जेछियाङ पक्राउ परेका छन्।

उनीहरूमाथि विभागले राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ अनुसार अनुसन्धान गरिरहेको थियो। अहिले सिआइबीले भन्सार ऐन र संगठित अपराधमा अनुसन्धान गरिरहेको हो। 

अहिलेसम्म यस प्रकरणमा एक जना मात्रै हाजिर जमानीमा छुटेका छन्। 

भन्सार एजेन्ट रूक्मिना सुब्बा स्वास्थ्य अवस्थाका कारण हाजिरी जमानीमा रिहा भएकी थिइन्।

खबरपाटी
खबरपाटी