काठमाडौँ । कर छली गरेको आरोपमा राजस्व अनुसन्धान विभागले काठमाडौंको ठमेलस्थित लर्ड अफ दी ड्रिंक्स (एलओडी) मा छापा मारेर अनुसन्धान थालेको छ । ग्राहकसँग धेरै रकम असुले पनि हिसाबमा कम मात्र देखाएर कर छली गरेको आरोपमा विभागले गत शुक्रबार छापा मारेको हो ।
विभागको टोलीले एलओडीको कारोबार हिसाब किताब (कागजात) नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले स्विकारे । ‘अहिले उक्त विषय अनुसन्धानकै क्रममा रहेकाले अहिल्यै थप केही भन्न सकिने अवस्था छैन,’ उनले भने, ‘अनुसन्धान सकिएपछि कैफियत र कारबाहीबारे भन्न सकिन्छ ।’
विभागले एलओडीमा छापा मारेको र सिलबन्दी गरेको केही नभई कारोबारको हिसाबकिताब नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको उनले बताए । प्राप्त सूचनाका आधारमा एलओडीले विभागका एक टोलीले एलओडीमा स्थलगत अनुगमन ९अपरेसन० गरेको र सोही क्रममा हिसाबकिताबको विवरण नियन्त्रणमा लिएको ढुंगानाले जनाए ।
विभागबाट खटिएको टोलीले गत शुक्रबार रातिदेखि स्थलगत अनुगमन सुरु गरेकामा शनिबार मात्र कागजात नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो । ग्राहक ९क्लबमा प्रवेश गर्ने०सँग ठूलो रकम असुलेर कम मात्र कर दाखिला गरेको आरोपमा अनुसन्धान सुरु गरिएको राजस्व अनुसन्धान विभाग स्रोतले बताएको छ । ‘कर छलीको सूचना आएपछि एलओडीको कारोबारका कागजात नियन्त्रणमा लिएका छौं,’ स्रोतले भन्यो, ‘हिसाबकिताबउपर अनुसन्धान सुरु भएको छ ।’
एलओडीमा प्रवेश गर्ने ग्राहकले तिर्ने रकम र क्लबले कर दाखिला खातामा चढाइने रकम बीचको अन्तर धेरै देखिएकाले कर छलीको आशंका गरिएको स्रोतको दाबी छ । ‘एलओडीको दैनिक कारोबारको विवरण, कर दाखिला, स्टक बुक, लेखा खातालगायत विवरण नियन्त्रणमा लिएका छौं,’ स्रोतले थप्यो । एलओडीका केही कर्मचारीबाट पनि बयान लिइने विभागले जनाएको छ । अन्य दिनको तुलनामा शुक्रबार सबैभन्दा धेरै कारोबार हुने भएकाले सोही दिन स्थलगत अनुगमनमा गएको विमाग स्रोतले स्विकारेको छ ।
स्थलगत अनुगमनका क्रममा करिब दुई हजारभन्दा बढी ग्राहक आउने गरेको विभागको टोलीले अनुमान गरेको छ । क्लबभित्र आउने ग्राहकमध्ये धेरैलाई प्रवेश शुल्क र त्यहाँ खाएको बिल पनि नदिने गरेको भेटिएको विभागले बताएको छ । केही समयअघि नाबालिगलाई प्रवेश दिएर विकृति बढाएको आरोपमा पनि एलओडीका सञ्चालकहरूलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेको थियो ।
हाल उक्त विषयमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले तीन जनाविरुद्ध मुद्दा दायर गरेको छ । क्लबका फ्रन्ट अफिस म्यानेजर सहदेव सेढाईं, कर्मचारी सपना ढुंगाना र प्रमुख कार्यकारी अधिकृत रविन श्रेष्ठविरुद्ध बालबालिकाविरुद्धको कसुरमा मुद्दा दर्ता भएको हो । उनीहरूमध्ये सेढाई र ढुंगाना प्रहरी हिरासतमा छन् ।
अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार ३१ जेठमा बिहान ३ बजे ललितपुर–४ स्थित डेरामा १५ वर्षीया किशोरी बलात्कृत भएकी थिइन् । त्यसबारे अनुसन्धानका गर्ने क्रममा उनलाई एलओडी क्लबबाट त्यहाँसम्म ल्याएर बलात्कार गरेको खुलेको थियो । त्यसक्रममा उनको उमेर १५ वर्ष ११ महिना ४ दिन देखिएपछि ललितपुर प्रहरीले नाबालिगलाई क्लबमा प्रवेश गराएको आरोपमा सञ्चालकमाथि पनि अनुसन्धान गरिरहेको छ ।