काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य केशव स्थापित पार्टी कमिटीबाट अलग भएका छन् । स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा पराजित भएपछि उनी प्रायस् निष्क्रिय थिए ।
हालै उनले पार्टी कमिटीबाट अलग हुन चाहेको जानकारी नेताहरुलाई गराएका थिए । सोही आधारमा एमालेको सचिवालय बैठकले स्थापितलाई केन्द्रीय सदस्यबाट बिदा गरेको स्रोतले बतायो । एमालेले स्थापितसँगै सिरहाका प्रमोद यादवलाई पनि केन्द्रीय सदस्यबाट बिदा गरेको छ ।
तर यसबारे स्थापित भने औपचारिक रुपमा बोल्न चाहेनन् । उनले अनलाइनखबरसँग भने, ‘अहिले यसबारे केही नबोलौं । केही दिनपछि बोलौंला ।’
आफूले ‘केही नयाँ’ गर्न खोजेको भन्दै उनले भने, ‘यो पाँच(सात वर्षदेखि मैले केही नयाँ कुरा गर्दैछु, केही नयाँ प्रयोगहरु गर्दैछु ।’
राजनीतिमै रहेर कि नरहेर भन्ने जिज्ञासामा उनले भने, ‘त्यो पनि ठूलो राजनीति हो नि ।’
ओलीपछि स्थापित नै युवा संघको दोस्रो अध्यक्ष बनेका थिए। काठमाडौंका रैथाने केशव स्थापित २०४३ सालको काठमाडौं नगरपञ्चायतको चुनावमा तत्कालीन नेकपा ९माले०बाट उपप्रधानपञ्चको उम्मेदवार बनेका थिए ।
२०४७ सालमा नेकपा एमालेको भातृ संगठन प्रजातान्त्रिक राष्ट्रिय युवा संघको संस्थापक अध्यक्ष केपी शर्मा ओली बन्दा केशव स्थापित महासचिव थिए ।
स्थापितले २०५१ सालमा पहिलो पटक राष्ट्रिय खेलकुद परिषद ९राखेप०को सदस्य सचिव पदमा राजनीतिक नियुक्त लिएर एक वर्ष काम गरे ।
२०५४ सालमा नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भए । ‘मेरो पौरख, मेरो गौरव, मेरो काठमाडौं’ भन्ने नारा उनैको पालामा ल्याइएको थियो । उनी मेयर भएकै बेला पशुपति, माइतीघर, तीनकुने लगायतका ठाउँमा निर्माण भएका अव्यवस्थित घर(टहराहरू भत्काइएको थियो ।
त्यतिबेला काठमाडौंको लोकप्रिय मेयरमा दरिएका स्थापित २०६१ माघमा भने तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हत्याएपछि काठमाडौंको मेयरमा मनोनीत भएर ‘टिके मेयर’को रूपमा आलोचित बने ।
राजाको शासनकाल समाप्तीपछि उनी माओवादी बने र काठमाडौं उपत्यका विकास प्राधिकरणको प्रमुख आयुक्तमा नियुक्त भए । तर तत्कालीन प्रधानमन्त्री डा। बाबुराम भट्टराईले ‘डेट एक्सपायर्ड’ भन्दै ९ महिनामै पदबाट हटाए । त्यसपछि नेपालको सबभन्दा पुरानो राजनीतिक संगठन प्रजापरिषद्को अध्यक्ष बनेर राजनीतिमा सक्रिय हुन खोजे पनि उनी असफल भए ।
संविधानसभाको दोस्रो निर्वाचनको बेला संघीय समाजवादी पार्टीमा लागेका उनी काठमाडौं क्षेत्र नं। ६ बाट उम्मेदवार बनेर नराम्ररी पराजित भए ।
अन्ततः उनी एमालेमै फर्किएर नेकपा एमालेबाट बागमती प्रदेश सभा सदस्य बने । एमालेले दोस्रोपटक काठमाडौंको मेयरको टिकट दिएपछि उनले प्रदेश सभा सदस्य पदबाट राजीनामा दिएर चुनाव लडे । तर स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह ९बालेन० मेयरमा निर्वाचित हुँदा उनी तेस्रो स्थानमा रहे ।
त्यसअघि बागमती प्रदेश ९तत्कालीन ३ नम्बर प्रदेश०को भौतिक पूर्वाधार मन्त्रीसमेत बनेका उनलाई मुख्यमन्त्री डोरमणि पौडेलले बर्खास्त गरेका थिए ।