मौसम पूर्वानुमान महाशाखाले आज आइतवार देशका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थानहरूका साथै बाँकी प्रदेशका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको जनाएको छ ।
आइतवार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले भारी वर्षाका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ । भारतको उत्तर पूर्वी उत्तर–प्रदेश तथा उत्तर पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको छ ।
हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका १–२ स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आइतवार दिउँसो देशभर पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै साथै मधेश प्रदेशको १–२ स्थानहरूमा मेघगर्जन, चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ ।
आइतवार राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका १–२ स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।