मौसम पूर्वानुमान महाशाखाले आज शनिवार देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको जनाएको छ ।
शनिवार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले भारी वर्षाका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुनसक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ । यसका साथै भारतको उत्तर पूर्वी उत्तर प्रदेश तथा उत्तर पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको छ ।
हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । गण्डकी प्रदेशका केही, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका थोरै तथा बाँकी प्रदेशका १–२ स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
शनिवार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।
शनिवार राति देशभरदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थानहरूका साथै बाँकी प्रदेशका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।