कलुवापुर क्षेत्रका अतिक्रमित संरचना हटाइँदै

शुक्लाफाँटा नगरपालिकाले बेलौरी–कलुवापुर–नायल–बुडर सडकखण्डको कलुवापुर चोकदेखि बन्साहसम्मको सडक अतिक्रमण गरी बनाइएका संरचना हटाउन सुरु गरेको छ ।

कलुवापुर क्षेत्रका अतिक्रमित संरचना हटाइँदै

काठमाडौं । शुक्लाफाँटा नगरपालिकाले बेलौरी–कलुवापुर–नायल–बुडर सडकखण्डको कलुवापुर चोकदेखि बन्साहसम्मको सडक अतिक्रमण गरी बनाइएका संरचना हटाउन सुरु गरेको छ ।
 
सडकको मध्यबिन्दुबाट दायाँबायाँ १५र१५ मिटर कायम गरी दुवैतर्फ ढल निर्माण गर्नुपर्ने भएकाले अतिक्रमण हटाउन थालिएको नगरपालिकाले जनाएको छ । कलुवापुर चोकदेखि दक्षिण बन्साहतर्फको आठ सय मिटरअन्तर्गत निर्माण भएका अवैध संरचना हटाउने काम अगाडि बढाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले बताउनुभयो ।
 
“यसअघि सडकको क्षेत्राधिकार मिचेर बनाइएका संरचना हटाउनका लागि दुईपटक सार्वजनिक सूचना प्रकाशित गरिसकेका छौँ”, उहाँले भन्नुभयो, “तेस्रो अन्तिम पटक सूचना जारी गरी तीन दिनभित्र खोका, छाप्रालगायत संरचना हटाउन भने पनि हटाइएका छैनन् ।”
 
पटकपटकको सूचनालाई अटेर गरेपछि अवैध रुपमा निर्माण गरिएका खोका, छाप्रा, टहरालगायत संरचना हटाउन सुरु गरिएको अधिकृत भट्टले जानकारी दिनुभयो । सडकको जग्गा मिचेर बनाइएका ती संरचना फेरी पनि नहटाइए प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइने उहाँको भनाइ छ । उहाँका अनुसार सडक छेउमा  एक सय बढी संरचना निर्माण गरिएका छन् ।

यसरी सडक छेउमै अवैध संरचना निर्माण हुँदा पानी निकास थुनिएर कलुवापुर बजार क्षेत्र डुबानमा पर्ने गरेको अधिकृत भट्टले बताउनुभयो । उहाँका अनुसार अल्पकालीनरुपमा प्रहरीको सहयोगमा नगरपालिकाले तीन दिनअघि दुई महिनादेखिको डुबान क्षेत्रको पानी निकास गरेको छ । 

सडकको दुवैतर्फ ढल निर्माण गर्नुपर्ने भएकाले सडक छेउमा अतिक्रमण गरी बनाइएका संरचना हटाउने कार्य भइरहेको नगर उपप्रमुख कल्पना पन्तको भनाइ छ । “ढल निकासको व्यवस्था गरे बजार क्षेत्र डुबानमा पर्दैन”, उहाँले भन्नुभयो, “त्यसैले सडकका दुवै किनाराका अवैध संरचना हटाउने कार्यमा लागेका छौँ । यसमा सबैको साथ र सहयोगको खाँचो छ ।”  रासस

खबरपाटी
खबरपाटी