नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ

नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन्।

बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो  (सिआइबी) ले शर्मालाई पक्राउ गरेको हो।

शर्मालाई किन पक्राउ गरिएको भन्नेबारे प्रहरीले खुलाएको छैन।

शर्माले आफूलाई घरबाटै प्रहरीले पक्राउ गरेको जानकारी कांग्रेस नेताहरूलाई दिएका छन्।

‘उहाँले म्यासेज गरेर घर (मण्डिखाटार) बाटै आफूलाई प्रहरीले पक्राउ गरेको जानकारी गराउनुभएको छ,’ कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले  भने।

सांसद शर्माले केही दिनअघि प्रतिनिधि सभा बैठकमा बोल्दै सुन प्रकरण छानबिन गर्न उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा माग गरेका थिए।

मोरङ क्षेत्र नम्बर ३ बाट गत मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसबाट शर्मा निर्वाचित भएका थिए।

शर्मा काठमाडौं मेडिकल कलेज र विराटनगरस्थित नोबल मेडिकल कलेजका सञ्चालक हुन्।

सभामुखलाई छैन जानकारी

प्रहरीले सांसद शर्मालाई पक्राउ गर्नुअघि सभामुख देवराज घिमिरेबाट अनुमति नलिएको पाइएको छ।

सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले सांसद शर्मा पक्राउबारे सभामुखलाई जानकारी नभएको बताए।

‘माननीय सुनिल शर्मा पक्राउ परेकोबारे सम्माननीय सभामुखज्यूलाई अहिलेसम्म जानकारी छैन,’ उनले भने।

खबरपाटी
खबरपाटी