अनलाइनमार्फत नाबालिगमाथि यौन हिंसा गरेको आरोपमा दुई जना पक्राउ

अनलाइनमार्फत नाबालिगमाथि यौन हिंसा गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं । नाबालिगमाथि अनलाइनमार्फत यौन हिंसा गरेको आरोपमा प्रहरीले दुई जना युवकलाई पक्राउ गरेको छ। 

नेपाल प्रहरीको साइबर ब्युरोले मंगलबार दुई जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक (एसपी) पशुपतिकुमार रायले जानकारी दिए।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका९ बस्ने १९ वर्षीय समिर तामाङ र सोही ठाउँका १९ वर्षीय सुरेश तामाङ छन्। 

एसपी रायका अनुसार नाबालिगलाई उनीहरूले सामाजिक सञ्जालमार्फत मानसिक तनाव मात्रै नभई यौन हिंसा समेत गरेका थिए। 

पक्राउ परेका समिर तामाङले नाबालिगलाई फेसबुकमा साथी बनाएका थिए। कुराकानी गर्नेक्रममा उनले  बालिकालाई प्रेम गर्ने बहानामा अडिओ र भिडिओ कल गर्न थालेका थिए। 

तर पछि उनले  बालिकालाई मानसिक तनाव दिन थालेको एसपी रायले बताए। तनाव दिन थालेपछि नाबालिकाले उनलाई ब्लक समेत गरेका थिए। 

समिरले अन्य व्यक्तिको अश्लिल फोटो र भिडिओमा पीडित नाबालिकाको अनुहार जोडेर सामाजिक सञ्जालमा सार्वजनिक समेत गरेको प्रहरीले जनाएको छ। 

त्यस्तै उनी र सुरेशले ती बालिकालाई एक दिन कोठामा समेत बोलाएका थिए। कोठामा बोलाएर सुरेशले बालिकामाथि यौन हिंसा गरेको एसपी रायले जानकारी दिए। 

उनीहरूमाथि विद्युतीय कारोबार ऐन २०६३ र यौन हिंसा कसुरमा अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ। काठमाडौं जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्न अनुमति लिएको छ। 
 
 

facebook sharing button

twitter sharing button

email sharing button

sharethis sharing button

खबरपाटी
खबरपाटी