काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतको पछिल्लो आदेशले बालुवाटार प्रकरणमा अनुसन्धानका लागि थप आधार तयार पारेको उल्लेख गरेका छन्।
मंगलबार प्रतिनिधिसभामा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै श्रेष्ठले कुनै पनि खालका अपराधलाई निष्पक्ष रुपमा छानबिन गर्न सरकार तयार प्रतिबद्धता जनाए।
आइतबार सर्वोच्चको संयुक्त इजलासले बालुवाटारको ११३ रोपनी जग्गा व्यक्तिका नाउमा पुर्याउन भूमिका खेलेका उच्च पदस्थ व्यक्तिामाथि पनि छानबिन गर्न आदेश दिएको छ।
आदेशप्रति प्रतिक्रिया जनाउँदै गृहमन्त्री श्रेष्ठले भने, ‘अदालतको आदेशले अनुसन्धानलाई थप आधार तय पारेको छ। यसलाई निष्कर्षमा पुर्याउन हामीले निर्देशन दिएका छौँ। जहाँसम्म जानुपर्छ, जानुहोस् भनेका छौँ। तथ्य प्रमाणले जसलाई तान्छ, सबैलाई तान्नुहोस् भनेका छौँ।’
उनले ९ किलो सुन प्रकरणमा माओवादीकै उपाध्यक्ष कृष्णबहादुर महरा जोडिएको प्रसंगतर्फ संकेत गर्दै भने, ‘घटनामा माओवादी वा जो सुकै होस्। अनुसन्धानले दोषी देखाए कोही छुट्दैन। म गृहमन्त्रीको हैसियले भन्न चाहन्छु। कसैलाई पनि उन्मुक्ति दिइदैन।’