मेरा सबै निर्णयहरूको निष्पक्ष छानबिन गरी आवश्यक कारबाही गर्नुहोस् : डा. बाबुराम भट्टराई

मेरा सबै निर्णयहरूको निष्पक्ष छानबिन गरी आवश्यक कारबाही गर्नुहोस् : डा. बाबुराम भट्टराई

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले आफ्नो प्रधानमन्त्री कार्यकालमा भएका सबै निर्णयहरूको निष्पक्ष छानबिन गरी कारबाही गर्न सरकारलाई आग्रह गरेका छन्।

आइतबार सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा सरकारको जग्गा व्यक्तिको नाममा ल्याउने प्रक्रियामा संलग्न पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र भट्टराइलाई समेत अनुसन्धानको दायरामा ल्याउनआदेश दिएपछि उनले निष्पक्ष छानबिनको माग सहितको प्रतिक्रिया दिएका छन्। 

सोमबार सामाजिक सञ्जाल फेसबुक मार्फत भट्टराईले ललिता निवासलगायत जुनसुकै प्रकरणमा पनि मन्त्रिपरिषद् लगायत सबै तहबाट भएका निर्णयहरूमाथि निष्पक्ष छानबिन गर्न आग्रह गरेका हुन्।

उनले लेखेका छन्,‘मेरो प्रमकालमा भएका सबै निर्णयहरूको निष्पक्ष छानबिन गर्न र आवश्यक कारबाही गर्न सरकार र सम्बन्धित निकायलाई मेरो विनम्र आग्रह छ।’ उनले ललिलत निवास प्रकरणमा सर्वोच्चको निर्देशन अनुसार छानबिन भएमा छानबिनका लागि पूर्ण सहयोग गर्ने प्रतिवद्धता पनि जाहेर गरेका छन्।

‘ललिता निवास लगायत जुनसुकै प्रकरणमा राज्यकामन्त्रि परिषद्लगायत सबै तहबाट भएका निर्णयहरू उपर निष्पक्ष छानबिन गरेर कानून विपरीत, राज्यलाई नोक्सा नहुने, निजी लाभ लिने ढंगले कार्य भए गरेको भएजति सुकै उच्च तहको व्यक्ति भएपनि कानून अनुसार कारबाही गरिनुपर्छ र देशमा विधिको शासन कायम गरिनुपर्छ भन्ने मेरो आजीवन मान्यता र प्रतिवद्धता रहेको छ,’भट्टराईले लेखेका छन्।

खबरपाटी
खबरपाटी