मुलुकको विकासका लागि भ्रष्टाचार र दण्डहीनताको अन्त्य हुनुपर्छः नेता डा कोइराला

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मुलुकको विकासका लागि भ्रष्टाचार र दण्डहीनताको अन्त्य हुनुपर्ने बताउनुभएको छ ।

मुलुकको विकासका लागि भ्रष्टाचार र दण्डहीनताको अन्त्य हुनुपर्छः नेता डा कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मुलुकको विकासका लागि भ्रष्टाचार र दण्डहीनताको अन्त्य हुनुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन काठमाडौँ शाखाले आज यहाँ आयोजना गरेको नवौँ जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यलाई ‘प्रमाणपत्र वितरण तथा पदस्थापन’ कार्यक्रममा उहाँले भ्रष्टाचार र दण्डहीनताको अन्त्य गर्दै सुशासन कायम गर्न सके मुलुकको विकास हुने बताउनुभयो ।

“देशमा अराजकता र दण्डहीनता बढिरहेको छ”, उहाँले भन्नुभयो । नेता डा कोइरालाले प्रहरीलाई बाहिर राखेर राजस्व अनुसन्धान विभागलाई मात्र संलग्न गराई सुन तस्करी प्रकरणको अनुसन्धान गर्नुले आम जनमानसमा आशङ्का उब्जिएको बताउनुभयो । उहाँले प्रहरीलाई अनुसन्धानमा संलग्न नगराई राजस्व अनुसन्धान विभाग मात्रै संलग्न गराउनुको कारण सञ्चारमाध्यमले खोज्नुपर्ने उल्लेख गर्नुभयो । भुटानी शरणार्थी र ललिता निवास जग्गा प्रकरण अहिले सुन प्रकरणपछि सेलाएको नेता कोइरालाको भनाइ थियो ।

नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले प्रेस युनियनलाई चलायमान बनाउँदै श्रमजीवी पत्रकारको मुद्दा समाधानमा वर्तमान केन्द्रीय समिति लागिपरेको बताउनुभयो । उहाँले प्रेस युनियनले २०८० साललाई प्रशिक्षण वर्ष घोषणा गरेकाले यसलाई सफल बनाउन सबै लाग्नुपर्ने बताउनुभयो ।

नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय महासचिव अजयकुमार राईले श्रमजीवी पत्रकारका मुद्दामा लड्न नेपाल ट्रेड युनियन कांग्रेस प्रेस युनियनसँगै रहेको बताउनुभयो । उहाँले न्यूनतम पारिश्रमिक निर्धारण समितिले तोेकेको तलबसमेत पत्रकारले नपाएको उल्लेख गर्दै न्यूनतम पारिश्रमिक निर्धारणका लागि नेपाल ट्रेड युनियन कांग्रेस लाग्ने स्पष्ट पार्नुभयो ।

नेपाल प्रेस युनियनका उपाध्यक्षद्धय नकुल अर्याल र जीवन भण्डारी, महासचिव दिलीप पौडेल, पूर्ववरिष्ठ उपाध्यक्ष दामोदरप्रसाद दबाडी, उपत्यका प्रतिष्ठान प्रदेशका अध्यक्ष लीलाराज खनाललगायतले अर्को वर्ष हुने नेपाल पत्रकार महासङ्घको निर्वाचनमा नेपाल प्रेस युनियनका उम्मेदवारलाई विजयी गर्ने गरी युनियनलाई बलियो बनाएर अगाडि बढ्नुपर्ने बताउनुभयो । 

नेपाल प्रेस युनियन काठमाडौँका निवर्तमान कार्यवाहक अध्यक्ष अच्युत रेग्मीले पछिल्लो समय सञ्चारमाध्याम बढ्दै गएको र सञ्चारमाध्यममा कार्यरत पत्रकारलाई पारिश्रमिक नदिएको गुनासो बढेकाले प्रेस युनियनले उक्त समस्या समाधानका  लागि पहल गर्नुपर्ने बताउनुभयो । सोही अवसरमा गत असार १० र ११ गते काठमाडौँमा सम्पन्न नवौँ जिल्ला अधिवेशनबाट निर्वाचित अध्यक्ष महेश्वर गौतमलगायतको निर्वाचित कार्यसमितिलाई प्रमाणपत्र हस्तान्तरण गरिएको थियो । रासस

खबरपाटी
खबरपाटी