काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले निःस्वार्थरुपमा गरिएको राजनीतिले देशको आर्थिक उन्नति गतिशील बनाउने बताउनुभएको छ ।
आज भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माध्यमिक विद्यालयको २५औँ वार्षिकोत्सवको अवसरमा उहाँले राज्यको उन्नति एवं प्रगतिमा राजनीतिले मुख्य भूमिका खेल्ने बताउनुभयो ।
विद्यार्थीले अध्ययन सँगसँगै राष्ट्रिय एवं अन्तर्राष्ट्रिय राजनीतिको विषयमा पनि चासो राखी देश र समाजको निःस्वार्थ सेवा गर्ने भावनाले अगाडि बढ्नुपर्ने औँल्याउँदै उहाँले विद्यार्थी जीवनदेखि विद्यार्थीलाई असल राजनीति गर्नतर्फ उत्प्रेरित गर्दै लैजानुपर्ने बताउनुभयो ।
अध्यक्ष बिजुक्छेँले देश विदेशको भूगोल अध्ययनले विद्यार्थीमा व्यापक दृष्टिकोणको विकास हुने बताउँदै किताबी ज्ञानमा मात्र भर नपरी विभिन्न अध्ययन अनुसन्धानबाट नयाँनयाँ कुरा पत्ता लगाउनेतर्फ विद्यार्थीको चासो राख्नुपर्नेमा जोड दिनुभयो ।
देशभक्तिको भावना भएका विद्यार्थीले आफ्नो देशको प्रगति र उन्नतिको लागि सधैँ तत्पर भएर लाग्ने बताउँदै उहाँले विदेशबाट सिकेको ज्ञान एवं सीपलाई आफ्नै देशमा प्रयोग गरी उपलब्धिपूर्ण काम गर्नु आफैँमा एउटा सफलता भएको बताउनुभयो ।
कार्यक्रममा नेमकिपाका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले सरकारले ख्वप विश्वविद्यालयको विधेयक पारित गराउन ढिलाइ गर्न नहुने बताउँदै ख्वप विश्वविद्यालय सञ्चालन गरी विद्यार्थीलाई नयाँनयाँ विषयमा अध्ययन अनुसन्धान गराउने लक्ष्य रहेको बताउनुभयो ।
शिक्षा क्षेत्रमा भइरहेको राजनीतिक भागबण्डाकै कारण देश लथालिङ्ग अवस्थामा पुगेको बताउँदै उहाँले सरकारले युवालाई विदेशी भूमिमा सस्तो ज्यामी बनाउन लिएको नीतिको सबैले विरोध गर्नुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख एवं विद्यालय सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले भक्तपुर नपाले शिक्षा क्षेत्रमा गरेको लगानीले देश र समाजले उपलब्धि हासिल गरेको बताउँदै देशभर जनस्तरबाट शैक्षिक संस्था सञ्चालन भएमा गरिब जनताका छोराछोरी महँगा विद्यालय एवं कलेजमा गएर पढ्नुपर्ने बाध्यताको अन्त्य हुने बताउनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख एवं विद्यालय सञ्चालक समितिका उपाध्यक्ष रजनी जोशीले भक्तपुर नपाबाट सञ्चालित आठ वटा कलेजले भक्तपुरको मात्र नभई सिङ्गो देश विकासको लागि महत्त्वपूर्ण योगदान पुर्याइरहेको बताउनुभयो ।
नेपाल खुल्ला विश्वविद्यालय व्यवस्थापन तथा कानुन सङ्कायका डीन प्रा डा अरहन स्थापितले नेपालमा २०१७ सालदेखि खुला विश्वविद्यालय स्थापना भएको र उक्त विश्वविद्यालयले प्रविधिमा आधारित विषयवस्तुको अध्ययन अध्यापनमा जोड दिँदै आएको बताउनुभयो । नेपाल खुला विश्वविद्यालयको शैक्षिक विशेषताहरुमाथि प्रष्ट पार्दै डा स्थापितले दक्ष जनशक्ति देशकै लागि अर्थपूर्ण सम्पत्तिको रुपमा रहेको बताउनुभयो ।
ख्वप अस्पतालका मेडिकल डाइरेक्टर, डा मजेशप्रताप मल्लले ख्वप सर्कलको गौरवपूर्ण इतिहासलाई अझ उँचो बनाउन विद्यार्थीले थप मिहेनत गर्नुपर्ने बताउँदै नयाँ कुरा सिक्न विद्यार्थी अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।
ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य इ सुजन माकले भक्तपुर नपाले ‘एक घर, एक स्नातक’ को अवधारणाका साथ स्थापित कलेजको उद्देश्य क्रमशः पूरा हुँदै गएको बताउँदै यी कलेजले अध्ययन अनुसन्धानलाई गुणस्तरीय बनाउँदै समय सान्दर्भिक विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनको आयोजनामा जोड दिँदै आएको बताउनुभयो ।
उक्त कार्यक्रममा ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठ र ख्वप माविका प्राचार्य लक्ष्मीप्रसाद कर्माचार्यले कक्षा ११ मा १९ सय २० भन्दा बढी विद्यार्थी भर्ना भएको जानकारी दिनुभयो । रासस