काठमाडौं । पूर्वमन्त्री विक्रमबहादुर थापाले अमरसिंहलगायतका राष्ट्रिय विभूतिको स्मृति दिवस सरकारीस्तरबाट हुनुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय विभूति अमरसिंह थापा प्रतिष्ठानद्वारा आज आयोजित ‘२०७औँ वीर अमरसिंह थापा स्मृति दिवस कार्यक्रम’ मा उहाँले राष्ट्र निर्माणमा महत्त्वपूर्ण योगदान पु¥याएका अमरसिंहलगायतका योद्धाको स्मृति दिवस सरकारस्तरबाट हुनुपर्ने बताउनुभएको हो ।
“मुलुक एकीकरणमा योगदान पु¥याएका योद्धाको इतिहासलाई संरक्षण गर्न कुनै वर्ग, जात विशेष नभई सरकारीस्तरबाट नै बजेट छुट्याई स्मृति दिवस मनाउनुपर्छ”, उहाँले भन्नुभयो । राष्ट्रिय विभूति राष्ट्रको चासो र सरोकारसँग जोडिएको विषय भएकाले राष्ट्रले अमरसिंहलगायतका विभूतिलाई चासो दिनुपर्नेमा उहाँको भनाइ छ ।
कार्यक्रममा प्रा डा सुरेन्द्र केसीले पुर्खाले जोगाएको भूभागको सरकारले संरक्षण गर्न नसकेको बताउँदै राष्ट्र निर्माणमा वीर योद्धाले पु¥याएको योगदानको इतिहासलाई निगरानी गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
अर्का इतिहासविद् दिनेशराज पन्तले नेपाल एकीकरणलाई बृहत्रूपमा अघि बढाउन अमरसिंह थापाले महत्त्वपूर्ण योगदान पु¥याएको बताउनुभयो ।
डर, धम्की, प्रलोभनमा नपरी राष्ट्र एकीकरण गर्ने क्रममा पूर्वमा टिस्टा र पश्चिममा काङ्गडासम्म सीमा पु¥याउन गरेको महत्त्वपूर्ण प्रयास र योगदान गर्ने योद्धाका रूपमा अमरसिंह पनि एक रहेको इतिहासविद् प्रा डा त्रिरत्न मानन्धरले बताउनुभयो ।
त्यस्तै बागमती प्रदेशका पूर्वमन्त्री उद्धव थापाले राष्ट्रिय भावनाले ओतप्रोत थापाको इतिहासलाई मनन गरी आउने पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताउनुभयो । प्रतिष्ठानका सचिव डा शशी थापा पण्डितले मुलुकको राष्ट्रियता झल्काउन अमरसिंहजस्ता योद्धाको प्रसार गर्न आवश्यक रहेको बताउनुभयो ।
त्यस्तै प्रतिष्ठानका उपाध्यक्ष ज्ञानराज थापाले अमरसिंह पार्क, प्रतिष्ठानको भवन बनाउन सकेमा योद्धाको योगदानको थप कदर हुने भन्दै इमानदार, साहसी, कुशल वीर योद्धाका रूपमा स्थापित थापालगायतका राष्ट्रिय विभूतिको संरक्षण गर्न सरकारको सहयोग आवश्यक रहेको बताउनुभयो ।
नेपाल राष्ट्र एकीकरण गर्न, जोगाउन, संरक्षण गर्न, विखण्डनबाट रोक्न महत्त्वपूर्ण योगदान पु¥याएका थापाको जन्म विसं १८०८ मा गोरखा जिल्लामा भएको थियो । उहाँको विसं १८७३ मा रसुवा जिल्लाको गोसाइँकुण्डमा निधन भएको थियो ।