काठमाडौं । अपाङ्गता भएका व्यक्तिले स्थानीय तहले दिने सेवालाई अपाङ्गतामैत्री बनाउन सुझाव दिएका छन् । सुर्खेतको सिम्ता गाउँपालिकामा गरिएको सार्वजनिक बहस कार्यक्रमका सहभागीले स्थानीय सरकारले दिने सेवा र संरचनालाई अपाङ्गतामैत्री बनाउन आग्रह गरेका हुन् ।
कार्यक्रमका सहभागी सिम्ता गाउँपालिकाका ऐनबहादुर विकले अपाङ्गता भएका व्यक्तिले सहज रुपमा सार्वजनिक निकायबाट सेवा पाउने वातावरण बनाउनुपर्ने माग गर्नुभयो । उहाँले स्थानीय जनप्रतिनिधि यसप्रति गम्भीर भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
योगेन्द्र शाहीले ‘ब्रेनलिपी’मार्फत जिज्ञासा राख्दै पालिकामा बन्दै गरेका भौतिक संरचना अपाङ्गमैत्री भएरनभएको बारे अनुगमन गर्नुपर्ने भन्दै अहिले अनुगमन गरिएको छ ? भनी प्रश्न गर्नुभयो । उहाँले स्थानीय सरकारले गरिरहेका कामको अनुगमन गरे प्रभावकारी नतिजा पाउन सकिने विचार राख्नुभयो ।
रुविन शाहीले सार्वजनिक निकाय अपाङ्गतामैत्री नहुँदा अपाङ्गता भएका व्यक्ति सेवा लिन आउँदा समस्या हुने गरेको बताउनुभयो । गाउँपालिकामा डिजिटल नागरिक वडापत्र राखिएको भन्दै उहाँले पालिकाले उपलब्ध गराउने सेवालाई अडियोमार्फत जानकारी दिने व्यवस्था मिलाइ दिन आग्रह गर्नुभयो ।
“अहिले डिजिटल बोर्डको व्यवस्था गरिएको छ, यो राम्रो पक्ष हो”, शाहीले भन्नुभयो, “दृष्ट्रिविहीनको सहजताका लागि यहाँबाट उपलब्ध गरिने सेवाका बारेमा अडियोमार्फत जानकारी दिने व्यवस्था गरिदिन म अनुरोध गर्दछु ।” स्थानीय वीरेन्द्र ओलीले पालिकामा अपाङ्गतामैत्री शौचालय नभएको भन्दै त्यतातर्फ ध्यान दिन आग्रह गर्नुभयो ।
कार्यक्रमका सहभागीले पालिकाभित्र सबै अपाङ्गता भएका व्यक्तीले परिचयपत्र नपाएको भन्दै यस विषयमा गम्भीर भएर काम गर्न पालिका तथा जनप्रतिनिधिलाई आग्रह गरेका छन ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगालीले पालिकाबाट उपलब्ध हुने सेवालाई अपाङ्गमैत्री बनाउने प्रयास गरिएको भन्दै डिजिटल बोर्डमा अडियोको व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । “हामीले अहिले सबै सेवा डिजिटल बोर्डमार्फत जानकारी दिइरहेका छौँ”, उहाँले भन्नुभयो, “त्यसमा अडियो राख्न मिल्छ भन्ने लागेको छ । आगामी दिनमा अडियोको व्यवस्था पनि गर्नेछौँ ।”
गाउँपालिकाका उपाध्यक्ष गोमा शर्मा रेग्मीले अपाङ्गता भएका व्यक्तिलाई आर्थिक रुपमा मजबुत बनाउने गरी पालिकाले योजना बनाइरहेको जानकारी दिँदै अब पालिकाभित्र बन्ने हरेक भवन अपाङ्गतामैत्री हुने बताउनुभयो । “यसअघि के भयो भन्दा पनि अब यहाँ बन्ने हरेक सार्वजनिक भवन अपाङ्गमैत्री बनाउने छौँ”, उहाँले भन्नुभयो, “हामी निर्वाचित भएर आएपछि बनिरहेका भौतिक संरचना अपाङ्गमैत्री नै बनिरहेका छन् ।” अन्य सेवालाई पनि अपाङ्गमैत्री बनाइने उहाँको भनाइ थियो ।
विसं २०७८ को जनगणनाअनुसार सिम्ता गाउँपालिकामा पाँच सय ७२ अपाङ्गता भएका व्यक्ति छन् । रासस