काठमाडौं । दाङमा यस वर्ष किसानले अनुदानको रासायनिक मल पर्याप्त पाएका छन् । कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले अनुदानको रासायनिक मल वितरण गरेपछि मलको अभाव नभएको किसानले बताएका छन् ।
अनुदानको मल सहज रुपमा पाएपछि धान रोपाइँ गरेको घोराही उपमहानगरपालिका–१ रामपुरका हिमाल चौधरीले बताउनुभयो । “हाम्रो गाउँमा आधाभन्दा बढी धान रोपाइँ भइसकेको छ । सिँचाइको सुविधा छ, मल पनि समयमा पायौँ । धान रोपाइँ गर्न सजिलो भयो”, उहाँले भन्नुभयो ।
घोराही उपमहानगरपालिका–६ गुरुवागाउँका मनोज चौधरीले दुई बिघा खेतमा धान रोप्नुभएको छ । “गाउँमा रहेको कृषि सहकारीमार्फत असार अन्तिम साता रासायनिक मल लिएको हो”, उहाँले भन्नुभयो, “मलको अभाव नभएपछि धान रोपाइँ सजिलै सकियो ।”
तुलसीपुरस्थित कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख तीर्थराज न्यौपानेले आर्थिक वर्ष २०७९र८० मा तुलसीपुरमा युरिया मल एक हजार नौ सय ५४, डिएपी एक हजार दुई सय ८१ र पोटास ४२ मेट्रिक टन आएको जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म युरिया एक हजार नौ सय ३८ दशमलव, डिएपी दुई हजार दुई सय ३३ र पोटास ५४ मेट्रिक टन बिक्री गरिएको छ । पोटास अघिल्लो वर्षको मौज्दात रहेको जानकारी दिँदै न्यौपानेले आव २०७८र७९ भन्दा गत वर्ष समयमा मल उपलब्ध भएकाले किसानलाई वितरण गर्न सजिलो भएको बताउनुभयो ।
त्यस्तै, आव २०७९र८० मा लमही कार्यालयमा धान खेतीलाई लक्षित गरेर युरिया मल एक हजार दुई सय ५३, डिएपी पाँच सय ९७ र पोटास ६३ मेट्रिक टन प्राप्त भएकामा युरिया एक हजार एक सय ८०, डिएपी पाँच सय ७०, पोटास ६४ मेट्रिक टन बिक्री गरिएको कृषि सामग्री कम्पनी लिमिटेड लमहीका प्रमुख सुस्मा बस्यालले जानकारी दिनुभयो । उहाँका अनुसार कृषि चुन आव २०७८र७९ को मौज्दात रहेको २० मेट्रिक टन बिक्री गरिएको हो ।
अहिले लमही कार्यालयमा युरिया ७२, डिएपी ३६ र कृषि चुन नौ मेट्रिक टन मौज्दात रहेको प्रमुख बस्यालले जानकारी दिनुभयो । देउखुरी क्षेत्रका किसानले धान रोपाइँ गरिसकेकाले मल मौज्दात रहेको उहाँले बताउनुभयो । जिल्लामा अहिले पनि मल आउने क्रम रहेकाले मलको अभाव नहुने उहाँको भनाइ थियो ।
लमहीमा १८, राप्तीमा सात, गढवामा १२ र राजपुरमा पाँचवटा सहकारीमार्फत मल वितरण भइरहेको प्रमुख बस्यालले जानकारी दिनुभयो । कृषि सामग्री कम्पनी लिमिटेड घोराहीका प्रमुख टोपाराम गौतमले आर्थिक वर्ष २०७९र८० मा युरिया दुई हजार तीन सय सात, डिएपी एक हजार तीन सय, पोटास ६६ र कृषि चुन दुई हजार एक सय मेट्रिक टन आएको जानकारी दिनुभयो ।
उहाँका अनुसार युरिया दुई हजार दुई सय ९५, डिएपी एक हजार तीन सय सात र पोटास ९२ मेट्रिक टन सहकारीमार्फत वितरण भइसकेको छ । हाल कार्यालयमा युरिया १२, डिएपी २५ र कृषि चुन २१ मेट्रिक टन मौज्दात रहेको प्रमुख गौतमले जानकारी दिनुभयो ।
जिल्लाका तीन स्थान ९घोराही, तुलसीपुर र लमही० बाट कृषि सामग्री कम्पनी लिमिटेडले सहकारी संस्थामार्फत अनुदानको रासायनिक मल वितरण गर्दै आएको छ ।रासस