काठमाडौं । संघीय संसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजेबाट शुरु हुनेछ। आजको बैठकमा राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले राष्ट्रिय सभाले पारित गरी सन्देशसहित प्रतिनिधि सभामा पठाएको मुलुकी संहीता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्नुहुने कार्यसूचि छ । तर सय किलो सुन तस्करीसम्बन्धी गृहमन्त्री र अर्थमन्त्रीको जवाफ माग गर्ने र उच्चस्तरीय छानबनि समिति बनाएर अनुसन्धान नगरेसम्म संसद बैठक अघि बढ्न नदिने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अडान छ । बुधवार प्रतिनिधि सभामा पनि एमालेले सुन तस्करीसम्बन्धी उच्चस्तरीय छानबिन समिति बनाएर अध्ययन नगरेसम्म सदन सुचारु हुन नदिने भन्दै संसद अवरोध गरेपछि संसद बैठक स्थगन भएको थियो । राष्ट्रिय सभा बैठकमा पनि एमालेले सोही अडानलाई निरन्तरता दिने बताइएको छ ।