मविन शर्मा/काठमाडौँ । गत आर्थिक वर्षको १२ महिनामा नेपालले १७ खर्ब ६८ अर्ब ८७ करोड २४ लाख ६५ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यो १६ दशमलव ५८ प्रतिशतले कम हो । निर्यात, आयात सँगै समग्र वैदेशिक व्यापारमा गिरावट आउँदा कुल वैदेशिक व्यापार घटेको हो ।
गत आर्थिक वर्ष निर्यात २१ दशमलव ४४ प्रतिशतले घट्दा नेपालले १२ महिनामा १ खर्ब ५७ अर्ब १४ करोड ६ लाख ९५ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो आर्थिक वर्षमा नेपालले २ खर्ब भन्दा धेरैको निर्यात गरेको थियो ।
निर्यात मात्र होइन नेपालको वैदेशिक व्यापारमा आयातको हिस्सा पनि १६ दशमलव ०८ प्रतिशतले घटेर गत आर्थिक वर्षमा १६ खर्ब ११ अर्ब ७३ करोड १७ लाख ७० हजार रुपैयाँ कायम भएको छ ।
गत आर्थिक वर्षमा आयात र निर्यात दुवै घट्दा नेपालको व्यापार घाटा पनि १५ दशमलव ४५ प्रतिशतले ओरालो लागेको छ । गत आर्थिक वर्षको १२ महिनामा नेपालले १४ खर्ब ५४ अर्ब ५९ करोड १० लाख ७४ हजार रुपैयाँ व्यापार घाटा व्यहोरेको छ ।
वैदेशिक व्यापारको क्रममा नेपालले कुल ५१८६ विभिन्न श्रेणीका सामानहरु भित्राएको छ । नेपालले १६ खर्ब ११ अर्ब ७३ करोड १७ लाख ७० हजार रुपैयाँ बराबरको सामान आयात गर्दा नेपालले ३ खर्ब ७७ अर्ब २६ करोड ४ लाख ७० हजार रुपैयाँ आयात राजश्व आर्जन गरेको छ । त्यस्तै नेपालले १०१६ विभिन्न श्रेणीका सामानहरु निर्यात गरेको छ ।
स्यानीट्यरी प्याड कतिको हुन्छ आयात र निर्यात ?
गत आर्थिक वर्षको १२ महिनामा भारी मात्रामा स्यानीट्यरी टावल, न्याप्किन र न्याप्किन लाइनरस्, डायपर र ट्याम्पुन्सहरु आयात भएका छन् । केहि मात्रामा सोही सामानहरु निर्यात पनि भएको छ ।
१२ महिनामा स्यानीट्यरी टावल मात्र १० करोड २९ लाख २४ हजार ७५ वटा आयात भएका हुन् । उक्त परिणाको स्यानीट्यरी टावलको मूल्य ९१ करोड ७९ लाख २० रुपैयाँ पर्दा सरकारले १४ करोड २७ लाख ४५ हजार रुपैयाँ आयात राजश्व कमाएको छ ।
त्यस्तै १२ महिनामा ११ करोड ५३ लाख ९५ हजार ५९० वटा डायपर आयात हुँदा त्यसको १ अर्ब ९२ करोड ८७ लाख ७९ हजारको बिल वापत नेपाल सरकारले ५६ करोड ९७ लाख ६६ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षमा ९२ हजार २३७ वटा ४३ लाख २७ हजार रुपैयाँ बराबरको ट्याम्पुनस् आयात गरिएको छ ।
स्यानीट्यरी टावल र डायपर नेपालबाट निर्यात पनि हुने गरेको छ । गत आर्थिक वर्षको १२ महिनामा ५ करोड ३५ लाख १२ हजार ६६६ वटा स्यानीट्यरी टावल वापत १४ करोड ९४ लाख ७८ हजार रुपैयाँ बराबरको निर्यात गरेको छ । निर्यातमा डायपरको पनि ठूलो हिस्सा रहेको छ । गत आर्थिक वर्षको १२ महिनामा ३ करोड २३ लाख ३० हजार ३८६ वटा बाट २१ करोड ८२ लाख १ हजार रुपैयाँ बराबरको निर्यात भएको थियो ।