उद्यमशीलतामार्फत देशको विकास गर्नुपर्छः प्रमुख  महर्जन

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले उद्यमशीलतामार्फत देशको विकास गर्नुपर्नेमा जोड दिनुभएको छ ।

उद्यमशीलतामार्फत देशको विकास गर्नुपर्छः प्रमुख  महर्जन

काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले उद्यमशीलतामार्फत देशको विकास गर्नुपर्नेमा जोड दिनुभएको छ । ललितपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको तेस्रो महिला उद्यमी सम्मेलन, २०८० लाई सम्बोधन गर्दै उहाँले उद्यमीलाई आर्थिक सहयोगको खाँचो औँल्याउनुभयो । 

“हामी ‘पाटन डज नट स्लिप (पाटन निदाउँदैन)’ भन्ने परियोजना ल्याउँदैछौंँ, यसमा उद्यमीलाई समेट्छौँ”, नगरप्रमुख महर्जनले भन्नुभयो, “नयाँ नौलो कार्यक्रम गर्नूस्, पुँजीको समस्या हुन दिँदैनौंँ, हामी सहयोग गर्छौँ ।” 

उद्यमीलाई आवश्यक व्यावसायिक तालिम लिन सुझाव दिँदै उहाँले भन्नुभयो, “तालिम लिइसकेका व्यक्तिका लागि व्यवसाय प्रवद्र्धन गर्न रु तीन करोड छुट्याएका छौँं ।” प्रमुख महर्जनले उद्यमी सम्मेलनबाट प्राप्त सुझावलाई मार्गनिर्देशनका रूपमा लिएर कार्यान्वयन गर्ने बताउनुभयो ।  

नेपालका लागि युरोयिन युनियनका राजदूत नोना डिप्रेजले अन्तर्राष्ट्रिय बजारमा गुणस्तरीय उत्पादनको माग रहेको र त्यसलाई नेपालले परिपूर्ति गर्न सक्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “युरोपमा पश्मिना, कफीलगायतका वस्तु निर्यात भइरहेको छ । युरोपका देशमा नेपाली हस्तकलाका उत्पादनहरूको राम्रो बजार रहेको छ । नेपालको छवि राम्रो रहेको छ ।” 

राजदूत डिप्रेजले ललितपुरका महिला उद्यमीले उत्पादन गरेको सामग्रीहरूलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन सहकार्य र समन्वय गर्ने बताउनुभयो । इयुले महिला उद्यमीलाई प्राथमिकतामा राखेको बताउँदै उहाँले युरोपका विभिन्न देशमा पुगेका नेपाली महिलाका उत्पादनले सकरात्मक बजार र सन्देश दिएकाले गुणस्तरलाई कायम गर्न सुझाव दिनुभयो । 

नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले नेपाली उद्यमी कोरोना महामारीबाट प्रभावित भए पनि सबै खालको अप्ठ्यारोलाई चिर्दै अगाडि बढेको बताउनुभयो । “कोरोना महामारीले गर्दा उद्यमी प्रभावित हुनुपरेको थियो । तर पनि यो खालको अप्ठ्यारोलाई चिर्दै अगाडि बढ्न सफल हुनुभयो । यो नै नेपाली उद्यमीको महानता हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा गुणस्तरीय नेपाली उत्पादनको राम्रो माग रहेको छ । यसलाई तपाईंहरूले परिपूर्ति गर्नुहुन्छ भन्ने विश्वास छ ।” राजदूत भोल्कले भन्नुभयो । 

नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमका आवासीय प्रतिनिधि आसियानी मेडागानगाडा लावेले नेपालले धेरैभन्दा धेरै महिलालाई उद्यमशील बनाउन प्रयत्न गरेको बताउँदै उद्यम क्षेत्रमा समयसापेक्ष नवप्रवर्तन गरिँदै लैजानुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालमा धेरैभन्दा धेरै महिलालाई उद्यमशील बनाउन  प्रयत्न भएको छ । उद्यमशील महिलाको सङ्ख्या बढ्दै गएको छ । अबका दिनमा उद्यम क्षेत्रमा समयसापेक्ष नवप्रवर्तन गरिँदै लैजानुपर्ने आवश्यकता छ ।” 

नेपाल साना तथा घरेलु उद्योग महासङ्घका अध्यक्ष उमेश सिंहले महिलालाई व्यावसायिक नेतृत्वमा पुर्याउन मेहनत गर्नुपर्ने र महिलालाई उद्यमी बनाउन सक्दा समाज उद्यमशील हुने बताउनुभयो । उहाँले उद्यमीहरूले उत्पादन गरेको सामग्रीलाई अन्तर्राष्ट्रियस्तरसम्म पु¥याउन मद्दत गर्नुपर्ने धारणा राख्दै महासङ्घ अन्तर्राष्ट्रियस्तरको बिक्री कक्ष निर्माण गर्न लागि परेको प्रस्ट पार्नुभयो । 

महनगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले विकास, हस्तकला, संस्कृतिमा अगाडि रहेको ललितपुर महानगर अब उद्यमशीलताको क्षेत्रमा पनि अगाडि हुने बताउनुभयो । उहाँले यो सम्मेलन अनुभव साटासाट गर्ने थलोका साथै अन्तर्राष्ट्रिय अनुभव पनि साटासाट गर्ने थलो हुने बताउनुभयो । 

    
प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले सबै उद्यमी महिलालाई समेट्ने अभिप्रायले उद्यम व्यवसायमा भएका समस्यालाई सम्बोधन गर्न सम्मेलनको तय भएको बताउनुभयो । उहाँले तालिमपछिको अन्योलता हटाउन प्राविधिक हस्तान्तरण गरी व्यवसायमा समावेश गराउने महानगरको नीतिअनुसार सङ्घर्षका कथा, देशको नीतिनियम, भोग्नु परेका समस्याको समाधानका लागि सम्मेलन केन्द्रित हुने बताउनुभयो ।  रासस

खबरपाटी
खबरपाटी