काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टिकापुर घटनामा संलग्नको आरोपमा जन्मकैदको सजाय सुनाइएका रेशमलाल चौधरीको विषय छिट्टै टुंगो लगउने बताएका छन् ।
बिहीबार प्रतिनिधिसभामा नागरिक उन्मुक्ति पार्टीका सांसद गंगाराम चौधरीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले चौधरीलाई छुटाउने प्रयास गरिरहेको बताएका हुन् ।
रेशम चौधरीलाई यसअघि पनि आफूहरुले अध्यादेश ल्याएर छुटाउने प्रयास गरेको भन्दै प्रचण्डले अदालतबाट जे आए पनि छिटो फैसला आओस् भनेर आवाज उठाएको पनि बताए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टिकापुर घटनाबारे प्रश्न गर्दै नाउपाका सांसद गंगाराम थारू।
‘म के विश्वास दिलाउन चाहन्छु भने रेशम चौधरीका विषयमा हामीले यसअगाडि पनि अध्यादेश ल्याएर भए पनि उहाँलाई छुटाउने प्रयास हामीले गरेकै हो । अदालतबाट जे फैसला भए पनि छिटो फैसला होस् भन्नको निम्ति हामीले सबैतिर कुनै न कुनै रुपमा आवाज उठाएकै हो’ प्रधानमन्त्री प्रचण्डले भने, ‘र अहिले टुंगिएको छ । अब यो वियषयलाई कसरी समाधान गर्ने विषयमा हामी निकै गम्भीर छौं । मलाइ विश्वास छ लाग्छ, यो विषयमा हामी छिट्टै टुंगोमा हामी पुग्छौं ।’
२ जेठमा सर्वोच्च अदालतले चौधरीलाई जन्मकैदको सजाय गर्ने उच्च अदालत दिपायलकै फैसलालाई सदर गरेको थियो । प्रधानमन्त्री प्रचण्डले शान्तिपूर्ण राजनीतिमा आउन सरकारसँग सम्झौता गरेका राजनीतिक दल तथा समूहका कार्यकर्ता रिहा गराउन प्रतिनिधिसभामा विधेयक दर्ता भइसकेको पनि बताए ।