काठमाडौँ । साफ च्याम्पियनसिप २०२३ को बुधबार ड्र निकालिएको छ । ड्र मा नेपाल समूह ‘ए’ परेको छ । प्रतियोगिता भारतको बेंगलोरमा असार ६ देखि १८ सम्म आयोजना हुँदैछ । नेपालको समूहमा भारत र कुवेतसँगै पाकिस्तान रहेको छ ।
नेपाल प्रतियोगिताको उपविजेता हो भने भारत डिफेन्डिङ च्याम्पियन हो । कुवेत र लेबनानका रूपमा प्रतियोगितामा पहिलोपल्ट दुई विदेशी पाहुना टिम रहेका छन् ।
प्रतियोगिताको समूह ‘बी’ लेबनानसँगै माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन् । फिफाको प्रतिबन्धका कारण यसपल्ट श्रीलंकाले प्रतियोगिता खेलिरहेको छैन ।
लेबनान फिफा वरीयतामा सार्क देशभन्दा माथि रहेको छ । साफबाट सबैभन्दा माथिल्लो वरीयतामा रहेको देश भारत हो । भारत १०१औं स्थानमा रहँदा लेबनान भने ९९औं स्थानमा रहेको छ । त्यस्तै कुवेत भने १४३औं स्थानमा छन् । नेपाल भने १७४औं स्थानमा रहेको छ । नेपालभन्दा तल्लो वरीयतामा रहने सार्क देशहरूमा भुटान १८५, बंगलादेश १९२, पाकिस्तान १९५ र श्रीलंका २०७औं स्थानमा रहेका छन् ।
सन् २००५ मा अफगानिस्तान साफमा आबद्ध भएको थियो । सन् २०१५ सम्म अफगानिस्तानले साफ च्याम्पियनसिपमा भाग लिएको थियो । त्यसपछि भने मध्य एसिया फुटबल महासंघ(सीएएफए)को संस्थापक सदस्यका रूपमा रहँदै अफगानिस्तान साफबाट बाहिरिएको हो । उक्त महासंघमा अफगानिस्तानसहित इरान, किर्गिस्तान, ताजिकिस्तान, तुर्केमेनिस्तान र उज्बेकिस्तान रहेका छन् ।