नक्कली शरणार्थी बनाउनेलाई छुट दिन सकिँदैन : उपप्रधानमन्त्री श्रेष्ठ

उप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नै देशको नागरिकलाई पैसा असुलेर अनागरिक र शरणार्थी बनाउनेलाई जस्तोसुकै दबाब वा प्रभाव आए पनि छुट दिन नसकिने बताएका छन्

नक्कली शरणार्थी बनाउनेलाई छुट दिन सकिँदैन : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं । उप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नै देशको नागरिकलाई पैसा असुलेर अनागरिक र शरणार्थी बनाउनेलाई जस्तोसुकै दबाब वा प्रभाव आए पनि छुट दिन नसकिने बताएका छन् ।

नेकपा एकीकृत समाजवादीका मोर्चा संगठन प्रमुख विजय पौडेल र प्रवक्ता जगन्नाथ खतिवडा लगायतको प्रतिनिधिमण्डलले दिएको ज्ञापनपत्र बुझ्दै उनले दोषी नउम्कने, निर्दोष नफस्ने गरी प्रहरीले स्वतन्त्र अनुसन्धान गरिरहेको बताए ।

एकीकृत समाजवादीले शरणार्थी प्रकरणमा संलग्नलाई कानूनी कारबाहीको दायरामा ल्याउन स्पष्ट अडान, कार्यकुशलता र सक्रियता देखाएर आम नागरिकमा सकारात्मक सन्देश प्रवाह गरेकामा सरकारलाई धन्यवाद दिएको छ । विगतका धेरै भ्रष्टाचार विषय बीचैमा सामसुम पारिएको हुँदा यति गम्भीर मुद्दालाई कुनै पनि प्रकारको मिलेमतोमा कमजोर नबनाउन र ढाकछोप नगर्न समाजवादीले सरकारको ध्यानाकर्षण समेत गराएको छ ।

मानव अधिकार तथा शान्ति समाजले पनि बुधवारै उपप्रधानमन्त्री श्रेष्ठलाई ५ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ । समाजले नक्कली शरणार्थी प्रकरणका दोषी तथा सबै भ्रष्टाचारीलाई कारबाही गर्न र मानवअधिकारमैत्री ऐन बनाई संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउन आग्रह गरेको छ ।

खबरपाटी
खबरपाटी