दोर्खु खोलाको पक्की पुल १४ महिना अगावै सम्पन्न

नुवाकोटको तादी गाउँपालिका–३ खरानीटारबाट वडा नं १ उर्लेनी जोड्न निर्माण गरिएको पक्की पुलको आज बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जमकट्टेलले उद्घाटन गर्नुभएको छ ।

दोर्खु खोलाको पक्की पुल १४ महिना अगावै सम्पन्न

काठमाडौं । नुवाकोटको तादी गाउँपालिका–३ खरानीटारबाट वडा नं १ उर्लेनी जोड्न निर्माण गरिएको पक्की पुलको आज बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जमकट्टेलले उद्घाटन गर्नुभएको छ ।

जिल्लाकै विकट बस्तीको रूपमा रहेको उर्लेनीसम्म यातायातको साधनमार्फत जान मुख्य अवरोध रहेको दोर्खु खोलामा निर्माण पक्की पुल निर्माण गरिएको हो । 

सो अवसरमा मुख्यमन्त्री जमकट्टेलले सडक व्यवस्थित बनाउन आवश्यक बजेट उपलब्ध गराउने बताउनुभयो । “विकासका लागि सडक पूवार्धार प्रमुख आवश्यकता भएकाले प्रदेश सरकारले सोहीअनुसार प्राथमिकता दिइरहेको छ”, उहाँले भन्नुभयो, “ग्रामीण क्षेत्रको विकास र दुर्गमबाट सुगम यातायातको पहुँचले भिन्नता बनाउने भएकाले निर्माण गरिएको पक्की पुलमा १२ महिना गाडी चलाउन जीर्ण सडकलाई व्यवस्थित गर्न क्रमशः ९बहुवर्षीय० बजेट उपलब्ध गराउने छौँ ।”

तादी गाँउपालिकाको केन्द्र खरानीटारबाट उक्त पुलसम्म पुग्न कच्ची सात किलोमिटरसहित उर्लेनीको मुख्य बस्ती काल्चे र ओख्रेसम्म पुग्ने सडक व्यवस्थित गर्न तीन तहको सरकारले सम्बोधन गर्नुपर्ने प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङले बताउनुभयो । उहाँका अनुसार उर्लेनीको प्रसिद्ध कृषी सामग्री उपजलाई बजार पु¥याउन, स्थानीयवासीको दैनिक उपभोग्य वस्तु खरिद गरेर लैजान र सागरकुण्ड हुँदै गोसाइँकुण्डसम्म पुग्ने पदमार्ग सुचारु गराउन पक्की पुलले महत्त्वपूर्ण योगदान पुग्ने विश्वास छ ।

पक्की पुलको निर्माणले गाउँ छाडेर शहर बजारतर्फ जाने बसाइँसराइ रोक्न, भूकम्पपछि जोखिममा परेको उर्लेनीबाट सुरक्षित स्थानको खोजीमा रहेको पीडितलाई आफ्नै थातथलोमा अड्याउन सकिने बागमती प्रदेशसभा सदस्य राधिका तामाङले बताउनुभयो ।
 
दुई वर्षमा सक्नुपर्ने पुल एक वर्ष नपुग्दै सम्पन्न 

तादीको खरानीटार र उर्लेनीको सीमा हुँदै बगेको दोर्खु खोलामा ४१ मिटर लम्बाइ र आठ दशमलव चार मिटर चौडाइको पक्की पुल निर्माण सुरु भएको छ महिनामै सम्पन्न भएको हो । विसं २०७९ असार ३० गते पूर्वाधार विकास कार्यालय र जयविष्णु निर्माण सेवाबीच दुई वर्ष ९विसं २०८१ असार ३०० भित्र पुल सम्पन्न गर्ने सम्झौता भएको थियो ।

ठाडो खोला र पानीको बहावले साउन १ देखिको सट्टामा काम सुरु गर्न कात्तिक लागेको थियो । पुल निर्माणको काम सुरु भएको छ महिना नपुग्दै सम्पन्न गरेको जयविष्णु निर्माण सेवाका प्रोप्राइटर अनिल सिलवालले बताउनुभयो । उहाँका अनुसार २४ महिनामा पूरा गर्नुपर्ने काम जिम्मेवारी पाएको १० महिनामा नै सम्पन्न भयो । पुल निर्माण गर्न ठेक्का लगाएको पूर्वाधार विकास कार्यालयका प्रमुख वीरेन्द्र बज्राचार्यका अनुसार रु छ करोड ९९ लाख ३९ हजारमा ठेक्का दिएको पुलको निर्माण व्यवसायीलाई रु पाँच करोड ६२ लाख भुक्तानी दिन बाँकी छ । 

दुई वर्षमा निर्माण सम्पन्न गर्न भनेर दिएको जिम्मेवारी १४ महिना अगावै पूरा गरेसँगै सोहीअनुसार बजेट नहुँदा भुक्तानी दिन प्रदेश सरकारलाई समस्या भएको हो ।  रासस

खबरपाटी
खबरपाटी