काठमाडौं । अनुसन्धान व्यवस्थापन एकाइ, विन्दुवासिनी संस्कृत विद्यापीठ, पोखराको आयोजना एवम् विश्वविद्यालय अनुसन्धान आयोग, सानोठिमी भक्तपुरको सहयोगमा पोखरामा सञ्चालित गोष्ठीमा राज्यको शिक्षा नीतिमा नै संस्कृत उच्च शिक्षा नसमेटिएकामा जोड दिइएको छ ।
दुईदिने गोष्ठीको दोस्रो दिन मङ्गलबार आयोजित ‘संस्कृत उच्च शिक्षामा आकर्षण वृद्धिका आधारहरू’ विषयक छलफलमा शिक्षा नीतिमा नै समावेश नगरी यसलाई मूलधारबाट टाढा राखिएको बताइएको थियो । कार्यपत्र प्रस्तुत गर्दै सहप्राध्यापक डा नारायण चालिसेले देशको शिक्षा नीतिमा संस्कृत उच्च शिक्षा नसमेटिएको जनाउँदै यसलाई समेट्नु जरुरी रहेको बताउनुभयो ।
देशव्यापी रुपमा यसको महत्व र विशेषतालाई प्रचारप्रसार गर्नुपर्नेमा जोड दिँदै उहाँले यससँग रोजगारीको सम्बन्ध विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । विद्यालयीय शिक्षामा संस्कृतलाई समेट्दै लैजानु आवश्यक भएकामा जोड दिँदै उहाँले जनतामा आकर्षण भए पनि यो राज्यको प्राथमिकतामा पर्न नसकेको बताउनुभयो ।
कार्यपत्र माथि टिप्पणी गर्दै प्राडा शालिग्राम सुवेदीले संस्कृत शिक्षा सामूहिक चेतनासँग जोडिन नसकेको बताउनुभयो । विद्यापीठका प्राचार्य डा जगन्नाथ रेग्मीले संस्कृत शिक्षाको संरक्षण र विकासका लागि संस्कृत वाङ्मयमा अध्येता, आनुसन्धाता सबैले सामूहिक प्रयास जारी राख्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा विद्यापीठका पूर्व विद्यार्थी आचार्य लक्ष्मण भण्डारीले जीवन व्यवस्थापन कला विषयक प्रशिक्षण दिनुभएको थियो । अनुसन्धान व्यवस्थापन एकाइका संयोजक सहप्राध्यापक डा चूडामणि कँडेलको सभापतित्वमा सम्पन्न कार्यशालाको सहजीकरण सदस्य सचिव उपप्राध्यापक प्रकाश पौडेलले गर्नुभएको थियो ।
कार्यक्रमा सहप्राध्यापक सत्यराज सुवेदी, प्राडा यामबहादुर पौडेल क्षेत्री, उपप्राध्यापक सुरज पौडेल, डा भोलानारायण रेग्मी, सहप्राध्यापक पूर्णचन्द्र वाग्ले, उपप्राध्यापक गणेश सुवेदी लगायतले संस्कृत शिक्षाको महत्वबारे प्रकाश पार्नुभएको थियो ।
यसअघिको गोष्ठीको दिन सोमबार ‘संस्कृत उच्च शिक्षामा समसामयिक चुनौती’ विषयक कार्यपत्र सहप्राध्यापक डा गुरुप्रसाद सुवेदीले प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमा सहप्राध्यापक डा शान्तिकृष्ण अधिकारीले टिप्पणी गर्नुभएको थिया्े । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति डा जगमान गुरुङले उद्घाटन गर्नुभएको गोष्ठीमा विभिन्न उच्च शैक्षिक संस्थाका प्रतिनिधि, संस्कृत वाङ्मयप्रेमी सहित एक सय २५ भन्दा बढीको सहभागिता रहेको आयोजकले जनाएको छ । रासस