स्वास्थ्य बिमाको उपचार सरल बनाउनुपर्छः मन्त्री बस्नेत

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बिमा कार्यक्रमको उपचार पद्धति सरल बनाउनुपर्ने बताउनुभएको छ ।

स्वास्थ्य बिमाको उपचार सरल बनाउनुपर्छः मन्त्री बस्नेत

काठमाडौं ।स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बिमा कार्यक्रमको उपचार पद्धति सरल बनाउनुपर्ने बताउनुभएको छ । 

मन्त्रालयमा आयोजित पत्रकारसँग कुराकानी गर्दै उहाँले स्वास्थ्य बिमा कार्यक्रम कार्यान्वयन प्रभावकारी बनाएर उपचार पद्धति सरल बनाइने बताउनुभयो ।  “स्वास्थ्य बिमा कार्यक्रममा एकरूपता पनि भएन”, उहाँले भन्नुभयो, “जुन ढङ्गले बिमा कार्यक्रम लागू हुनुपर्ने हो, त्यो भएन । अब बिमा कार्यक्रमलाई प्रभावकारीरूपमा कसरी कार्यन्वयन गर्ने भन्नेमा सम्बन्धित पक्षसँग कुरा गरिरहेको छु ।”

मन्त्री बस्नेतले राज्य स्वास्थ्य क्षेत्रमा लगानी गरेअनुसार प्रतिफल नपाएकोसमेत बताउनुभयो । स्वास्थ्य मन्त्रालयले आफ्नो काममा सुधार गर्नुपर्ने उहाँको भनाइ थियो । उहाँले मन्त्रालयमा काम गर्ने कर्मचारीलाई दण्ड र पुरस्कारको व्यवस्था गरेर सुधार गर्ने बताउनुभयो । 

मन्त्री बस्नेतले स्वास्थ्य नीति राम्रो बनाउन सके दातृ निकायले पनि लगानी गर्ने बताउनुभयो । “स्वास्थ्य नीति राम्रो बनाउन सक्ने हो भने दातृ निकाय स्वास्थ्य क्षेत्रमा लगानी गर्न तयार रहेका छन्”, उहाँले भन्नुभयो, “हामीले स्वास्थ्य नीति बनाएर वैदेशिक सहयोग भित्र्याउनुपर्दछ ।”

उहाँले सुर्तीजन्य पदार्थमा कर थोरै भएकाले बढाउन पहल गर्ने बताउनुभयो । “सुर्तीजन्य पदार्थको कर अत्यन्तै कम छ । कर बढाउँदा सुर्तीजन्य पदार्थ नखाएपछि स्वास्थ्य जोगिन्छ”, उहाँले भन्नुभयो ।   रासस

खबरपाटी
खबरपाटी