मनाङमा सडकको ट्र्याक खोलिदै

हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिकामा ट्र्याक खोलिदै छ ।

मनाङमा सडकको ट्र्याक खोलिदै

काठमाडौं । हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिकामा ट्र्याक खोलिदै छ । सडक विस्तार भएको २० वर्षपछि विकट क्षेत्रको रुपमा रहेको नार्पाभूमिमा  सडकको ट्र्याक खोल्न थालिएको हो ।  

प्रदेश सरकार र पालिकाले बजेट छुट्याएपछि नार्पाभूमिमा विष्फोटक पदार्थ प्रयोग गरी पहाड फोरेर सडकको ट्र्याक खोल्न सुरुआत गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शिशिर घिमिरेले जानकारी दिनुभयो । सडक सञ्जालबाट वञ्चित सो पालिकामा चट्टान फुटाउन विष्फोटक पदार्थ प्रयोग गरिँदै छ । 
    
जिल्ला सुरक्षा समितिको बैठकबाट निर्णय भएपछि आजदेखि विष्फोटक पदार्थ प्रयोग गरी नार्पाभूमिको कोतो–च्याँखु सडक खण्डको ट्र्याक खोल्न थालिएको उहाँले बताउनुभयो । विष्फोटक पदार्थ प्रयोग गर्ने समयमा पशुचौपाय नछोड्न र पैदलयात्रुलाई आवतजावत नगर्न  अनुरोध गरिएको छ ।     

नार्पाभूमिमा सडक सञ्जालका लागि ट्र्याक खोल्न स्थानीय सरकार र प्रदेश सरकारबाट बजेट विनियोजन भएको छ । केही भागमा ट्र्याक खोल्ने काम भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश पाख्रिनले जानकारी दिनुभयो । ट्र्याक खोल्न गण्डकी प्रदेश सरकारले  रु ५० लाख र गाउँपालिकाले रु ९० लाख विनियोजन गरेको छ ।  रासस
 

खबरपाटी
खबरपाटी