वर्षाले खेल हुन नसके : के पुरा होला त एसिया कप २०२३ मा खेल्ने  नेपालको सपना ?

मबार कीर्तिपुरस्थित त्रिवि मैदानमा युएईलाई पराजित गर्न सके नेपालको एसिया कप खेल्ने सपना पूरा हुनेछ

वर्षाले खेल हुन नसके : के पुरा होला त एसिया कप २०२३ मा खेल्ने  नेपालको सपना ?

एसिसी प्रिमियर कपको फाइनलमा स्थान बनाएसँगै नेपाल एसिया कप २०२३ मा खेल्ने सपनाको नजिक पुगेको छ।  सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा युएईलाई पराजित गर्न सके नेपालको एसिया कप खेल्ने सपना पूरा हुनेछ।

एसिया कपमा स्थान बनाएपछि नेपालले विश्व क्रिकेटका शक्ति राष्ट्रद्वय भारत र पाकिस्तानसँग खेल्न पाउनेछ। आगामी सेप्टेम्बरमा हुने तय एसिया कपको समूह ‘ए’ पाकिस्तान र भारतसँगै एसिसी प्रिमियर कप विजेता खेल्ने तालिका छ। एसिया कपको अर्को समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तानबीच प्रतिस्पर्धा हुनेछ।

नेपालका लागि भारत र पाकिस्तानसँग खेल्नु ठूलो अवसर हो। सेमिफाइनलमा नेपालले कुवेतलाई पछि पारेर फाइनलमा स्थान बनाएको हो। वर्षाका कारण खेल रद्द हुँदा नेपाल समूह विजेता भएको आधारमा फाइनलमा पुग्यो। 

युएईले भने ओमानमाथि डिएलएस मेथडमा २ रनको जित निकालेर फाइनलमा स्थान बनायो। 

पछिल्लो समय यूएईले उत्कृष्ट खेल देखाइएको छ। आइसिसी विश्वकप लिग(२ मा खराब प्रदर्शन गरेपछि क्वालिफायर प्लेअफमा धकेलिएको युएई त्यसपछि भने उत्कृष्ट खेल देखायो। नामिबियामा उत्कृष्ट खेल देखाएर युएईले एकदिवसीय मान्यता जोगाउनुका साथै विश्वकप छनोटमा समेत स्थान बनायो। 

जारी प्रिमियर कपमा युएईका युवा ब्याट्सम्यान वृत्य अरविन्दले दुई शतक र एक अर्धशतक प्रहार गरिसकेका छन्। यस्तै कप्तान मोहमद वासीमले पनि एक शतक हिर्काएका छन्। 

नेपालविरूद्ध खेलेका पछिल्ला तीन खेलमा पराजित भएको युएई घरेलु टिमलाई स्तब्ध पार्न चाहान्छ। तर घरेलु मैदानमा नेपाली टिम लयमा छ। कप्तान रोहित पौडेलसँगै कुशल मल्ल तथा भीम सार्कीले पछिल्ला खेलमा राम्रो ब्याटिङ गरिरहेका छन्। सधैं झैं सन्दीप लामिछाने नेपालका मुख्य हतियार हुन्।

नेपालले पछिल्ला ९ खेलमा अपराजित छ। ११ खेल खेल्न तालिका भए पनि दुई खेल भने वर्षाले अवरूद्ध भएको थियो।

भारतीय प्रशिक्षक मोन्टी देसाई नेपाली टिमको प्रशिक्षक नियुक्त भएसँगै नेपाली टिमको प्रदर्शनमा सुधार आएको छ भने टिम भावना बलियो देखिएको छ। गत वर्ष टिम विभाजन भएको भन्दै दुई प्रशिक्षकले राजीनामा दिएका थिए। 


पछिल्लो समय नेपालमा भइरहेको वर्षा कारण भने भोलि सोमबारको खेललाई पनि प्रभावित पार्ने देखिन्छ। मौसम पूर्वानुमानअनुसार भोलि सोमबार काठमाडौंमा वर्षाको सम्भावना छ। 

भोलि नेपाल र युएईबीचको खेल हुन नसकेको अवस्थामा खेल पर्सि रिजर्भ डेसम्मका लागि स्थगित हुनेछ। पर्सि मंगलबार पनि मौसम सफा नरहने पूर्वानुमान छ।


यद्यपी सोमबारको तुलनामा मंगलबार मौसममा केही सुधार आउनेछ। पर्सीको खेलमा पनि खेलको नतिजा आउन नसके दुई ओभरको सुपर ओभर हुनेछ। सुभर ‌ओभर पनि सम्भव नभएको अवस्थामा प्रतियोगिताको वरीयतामा अघि रहने टिम च्याम्पियन हुनेछ। यस्तो अवस्थमा अपराजित रहेको नेपाल प्रतियोगिताको च्याम्पियन हुनेछ भने एसिया कपमा छनोट हुनेछ।

खबरपाटी
खबरपाटी