काठमाडौं । शिक्षासेवी पं कृष्णलाल झाको स्मृतिमा रु ५१ हजारको शिक्षा पुरस्कार स्थापना गरिएको छ ।
साहित्यकार एवं संस्कृतिविद् प्राज्ञ धीरेन्द्र प्रेमर्षि र साहित्यकार एवं सञ्चारकर्मी रूपा झाले पिता झाको स्मृतिमा सामुदायिक विद्यालयको शिक्षण र शैक्षणिक उन्नयनमा उल्लेख्य योगदान पु¥याउने विशिष्ट शिक्षासेवीलाई बर्सेनि पुरस्कृत गर्नेगरी सो पुरस्कार स्थापना गर्नुभएको हो ।
विसं २००४ मा स्थापित र पूर्वाञ्चल क्षेत्रमै उल्लेख्य शैक्षिक प्रतिष्ठान मानिएको सिरहा जिल्लास्थित बस्तीपुर माविका संस्थापक शिक्षकमध्येका एक पं झाले उक्त विद्यालयमा लामो समयसम्म पढाउनुभएको थियो
बस्तीपुर माविबाट एसइई परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्ने एक छात्र र एक छात्रालाई रु ११ हजारको कृष्णानन्दी प्रोत्साहन पुरस्कार र सोही विद्यालयमा कक्षा ११–१२ अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने बताइएको छ ।
पं झाकी धर्मपत्नी आनन्दीदेवी झा प्रमुख संरक्षक र जेठा छोरा राजेन्द्र झा संरक्षक रहनुभएको पुरस्कार कोष सञ्चालनका लागि प्राज्ञ प्रेमर्षिको अध्यक्षतामा बस्तीपुरका प्रबुद्ध व्यक्तित्वहरू कुमुदरञ्जन बराल, शेखर गिरी, डा रेणु अधिकारी, धर्मेन्द्र झा ‘विह्वल’, गोविन्द यादव, जुगुत राम, राकेश रेग्मी र रूपा झा सदस्य तथा देवेन्द्र झा, योगेन्द्र झा, वीरेन्द्र झा, महेन्द्र झा, जीतेन्द्र झा, विमला झा र विभा झा सल्लाहकार रहनुभएको समिति बनाइएको छ । सो पुरस्कार पं झाको जेठा छोरा अक्षेन्द्र झाको जन्मदिन ९वैशाख १२ गते० प्रदान गरिनेछ ।रासस