काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ६९ करोड घोटाला भएको आरोपमा आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियारले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसहित नौजना कर्मचारीलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ ।
अस्वाभाविक लागत अनुमान तयार गरी स्वीकृत गर्ने, खरिद सम्झौताविपरित गुणस्तरहीन ‘इलेक्ट्रिक ट्रान्सफर्मर’ स्वीकार गर्ने, सम्झौतामा उल्लेख भएभन्दा फरक ‘कन्ट्री अफ ओरिजिन’ भएको जेनेरेटर स्वीकार गरी भुक्तानी गर्ने, खरिद सम्झौता बमोजिम कामै नगरी संरचना सञ्चालनवापत र आपूर्ति पछिको सेवावापत अग्रीम तवरमा बढी भुक्तानी दिने र आवश्यकता नै नरहेको र औचित्य पुष्टि हुन नसक्ने ‘बल्क फ्युल ट्यांक सिस्टम’ को खरिद गर्ने कार्य गरी नेपाल सरकारको सम्पत्ति गैरकानूनी तवरले हानीनोक्सानी तथा सरकारी रकम दुरुपयोग गरेको आरोप छ ।
कार्यकारी निर्देशक पौडेलसहित सिडिई नविनकुमार पोखरेल, सहायक निर्देशक रमेशप्रसाद पोखरेल, लेखा अधिकृतबाट निवृत्त रामबहादुर बुढा, शाखा अधिकृत शिरिष उपाध्याय, रोहितमान प्रधान, भुवन महर्जन र मित्रलाल गुरौविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो ।