स्थानीय तहका खाताको पैसा शतप्रतिशत निक्षेप गणना गर्न पाउनुपर्ने माग

स्थानीय तहका खातामा रहेको रकमलाई बैंक तथा वित्तीय संस्थाले शतप्रतिशत निक्षेपका रुपमा गणना गर्न पाउनुपर्ने माग बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) ले राखेको छ ।

स्थानीय तहका खाताको पैसा शतप्रतिशत निक्षेप गणना गर्न पाउनुपर्ने माग

काठमाडौं । स्थानीय तहका खातामा रहेको रकमलाई बैंक तथा वित्तीय संस्थाले शतप्रतिशत निक्षेपका रुपमा गणना गर्न पाउनुपर्ने माग बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) ले राखेको छ ।
 
सिबिफिनले आज काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले यस्तो निर्णय गर्नुपर्ने माग राखेको हो । हाल बैंक तथा वित्तीय संस्थाले स्थानीय तहको खातामा रहेको रकमको ८० प्रतिशतसम्म निक्षेपमा गणना गर्ने सुविधा पाएका छन् । त्यसलाई शतप्रतिशत बनाउनुपर्ने सिबिफिनको माग छ । स्थानीय तहको खातामा अहिले करिब रु दुई खर्ब बराबर रकम रहेकोमा यस्तो व्यवस्था लागू गर्दा बजारमा तरलता केही सहज हुने ठानिएको छ ।
    
पुँजीगत खर्च बढाउन र बिल शोधभर्ना तथा भुक्तानी प्रक्रिया तत्काल बढाउन पनि सिबिफिनले माग गरेको छ । नेपालमै उत्पादन हुने र विलासिताका वस्तुमा कर बढाउन पनि सरकारलाई सुझाव दिएको छ । “आत्मनिर्भरतातर्फ उन्मुख नेपाली उत्पादनको समानान्तरमा आयात हुने वस्तु र विलासिताका वस्तुमा आयकर वा भन्सार दर वृद्धि गर्दा नेपाली उत्पादनको सम्वद्र्धन हुन गई राजस्व वृद्धि हुन जान्छ”, सिबिफिनले भनेको छ तर बैंकहरुको संस्थागत आयकरको दर भने ३० प्रतिशतबाट २५ प्रतिशतमा झारिनुपर्ने  उसको माग छ ।
     
कर्जाको सहज पहुँच, रोजगारी तथा उत्पादन वृद्धि र आयात प्रतिस्थापन गर्न साना तथा मझौला व्यवसायमा प्रवाह हुने रु पाँच करोडसम्मको कर्जामा वर्किङ क्यापिटल गाइडलाइन लागू नहुने व्यवस्था गर्न सिबिफिनले नेपाल राष्ट्र बैंकसँग माग गरेको छ । त्यस्तै, स्प्रेड र सेवा शुल्कसम्बन्धी राष्ट्र बैंकको व्यवस्था खारेज गरिनुपर्ने माग गरिएको छ ।

अन्य क्षेत्रको तुलनामा उत्पादनमूलक क्षेत्र, रोजगारमूलक उद्योग व्यवसाय, ऊर्जा, निर्माण, पर्यटन, कृषिजस्ता क्षेत्रका लागि कर्जाको ब्याजदर कम्तीमा दुई प्रतिशत न्यून हुनुपर्ने पनि माग गरेको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाविरुद्ध चलिरहेका आन्दोलन नियन्त्रण र सुरक्षाको प्रत्याभूतिका लागि पनि सिबिफिनले गृह मन्त्रालयसँग आग्रह गरेको छ । रासस

खबरपाटी
खबरपाटी