झापा आन्दोलनका बेला ओलीका सहयोद्धा नरेश खरेलले छाडे एमाले, लगाए यस्ता गम्भीर आरोप

२०२८ को झापा विद्रोहका योद्धा नरेश खरेल एमाले अध्यक्ष केपी ओलीका सहयात्री

झापा आन्दोलनका बेला ओलीका सहयोद्धा नरेश खरेलले छाडे एमाले, लगाए यस्ता गम्भीर आरोप

काठमाडौं । २०२८ को झापा विद्रोहका योद्धा नरेश खरेल एमाले अध्यक्ष केपी ओलीका सहयात्री हुन् । एमालेका केन्द्रीय सल्लाहकार एवं पूर्व पोलिटव्युरो सदस्यसमेत रहेका खरेलले पार्टी परित्याग गरेका छन्।

सोमबार झापाको बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरेर उनले एमाले परित्याग गरेको घोषणा गरेका हुन् । एमालेले नेपालमा समृद्धि ल्याउन नसक्ने दावी गर्दै उनले पार्टी परित्याग गरेका हुन् । ‘जनताको मुक्तिका लागि एमालेले नसक्ने भएपछि पार्टी छोड्न बाध्य भएका हौँ,’ उनले भने । पार्टीमा स्वेच्छाचारी प्रवृत्तिको सुधारका लागि आफूलगायत अन्य कार्यकर्ताबाट अनेकौँ प्रयास गरिए पनि आफूहरूलाई केपी ओलीले तिरस्कार गरेको खरेलले आरोप लगाए ।

खरेलले एमाले छाड्ने बेला पत्रकार सम्मेलनमा के के भने ?

आज चैत २७ गते सहिद रामकुमार वान्तवाको स्मृति दिवस हो । यस अवसरमा सर्वप्रथम हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छौँ । सहिदको सपना साकार पार्ने काममा वामपन्थी पार्टी एकतावद्ध भई निरन्तरता पाउन नसक्दा देशमा ठूलो राजनीतिक परिवर्तन भए पनि सहिदहरूका सपना साकार हुन सकेको छैन ।

सहिदहरूको सपना साकार पार्न न्याय समानतामा आधारित सामाजिक र आर्थिक रूपान्तरणसहितको परिवर्तन जरुरी छ । तर वाम आन्दोलमा देखिएको ठूलो उच्च विभाजनले सहिदहरूका सपना साकार पार्ने काममा चुनौती थपिँदै गएको छ । यस्तो स्थितिमा आज हामी लामो समयदेखि एमालेमा संगठित रहेर काम गरिरहेका कमरेडहरू यहाँ उपस्थितहरू रहेका छौँ ।

हामीले लामो समयदेखि पार्टीभित्र देखिएका गलत पद्धति, कार्यशैली र नीतिका विभिन्न कार्यशैलीप्रति वैचारिक बहस गर्दै आएका थियौँ । हामीले यसक्रममा अनेकौँ अपमान र तिरस्कार गर्नुप¥यो । सो बाबजुद पनि पार्टी एकताका लागि निरन्तर लागिपरेर कदमहरू जारी राख्यौँ । सबैको साझा प्रयत्नले नेपालका दुई ठूला कम्युनिस्ट एकताबद्ध भई अघि बढिरहेको परिणामस्वरूप नेपालको कम्युनिस्ट आन्दोलनमा झन्डै दुई तिहाइ बहुमत ल्याउन सम्भव भयो । जनता र कार्यकर्तामा खुसियाली छायो । अब मुलुकले स्थिरता प्राप्त गर्ला । देशमा भएको राजनीतिक परिवर्तनस्वरूप आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तन होला भन्ने हामीले आशा गरेका थियौँ ।

तर दम्भ, अहंकार र अन्तद्र्वन्द्वले संसद् विघटन हुँदै पार्टी तीन टुक्रा हुन पुग्यो । यसले जनतामा असन्तुष्टि पैदा भएको छ । यस्तो प्रतिघातले देशलाई दुःखद अवस्थामा पु¥याएको छ । देशमा वितृष्णा, अस्थिरता पैदा भएको छ । देशमा अन्तर्राष्ट्रिय शक्तिहरू चलखेल गर्ने उचित थलो भएको छ । त्यस्ता घटनाप्रति नेतृत्व आफ्ना गल्ती कमजोरीहरू सुधार्दै पार्टीलाई एकताबद्ध हुने, नेता तथा कार्यकर्तालाई एकताबद्ध बनाउनुपर्नेमा अपमान गर्नेप्रति तल्लीन छ । पार्टीका इमान्दार नेता तथा कार्यकता पाखा लगाउने दक्षिणपन्थी यथास्थितिवादी शक्तिसँग साँठगाँठ कसेर प्रयोग गरेको पाइएको छ । यस्ता गतिविधि हामीले टुलुटुलु हेरेर बस्न सकेनौँ । त्यसैले एमालेमा लामो समयदेखि काम गरेका पार्टीका गलत क्रियाकलापमा असहमत जनाउदैँ आएका नेता तथा कार्यकर्ताहरू आजबाट स्वतन्त्र रहने घोषणा ग¥यौँ ।

खबरपाटी
खबरपाटी