काठमाडौं । लियोनल मेसी र सर्जियो रामोसले गोल गरेपछि पिएसजीले नाइसलाई २-० ले पराजित गरेको छ। जितसँगै पिएसजीले लिग वानको शीर्ष स्थानमा ६ अंकको अग्रता बनाउन सफल भयो।
मेसीले एक गोल गरेको खेलमा अर्को एक गोलका लागि असिस्ट गर्दै आफ्नो प्रभावशाली उपस्थिति देखाएका थिए। नाइसको घरेलु मैदानमा शनिबार राति २६ औँ मिनेटमा मेसीले गोल गर्दै पिएसजीलाई सुरुवाती अग्रता दिलाए। पहिलो हाफमा १-० को अग्रता लिएको पिएसजीले दोस्रो हाफमा थप एक गोल गर्यो।
७६ औँ मिनेटमा डिफेन्डर रामोसले गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे। उनले मेसीकै पासमा गोल गरेका थिए।
पिएसजीसँगको हारसँगै नाइसको १५ औँ खेलमा अपराजित यात्रामा पूर्णविराम लागेको छ। ७ जनवरी २०२३ मा कप डी फ्रान्समा ले पुईसँग १-० ले पराजित भएयता नाइस १४ खेलसम्म अपराजित थियो।
जितसँगै पिएसजीको ३० खेलबाट ६९ अंक पुगेको छ। समान खेलबाटै दोस्रो स्थानमा रहेको लेन्सको ६३ अंक रहेको छ। पराजित नाइस ४५ अंक जोडेर आठौँ स्थानमा छ।