काठमाडौँ । काठमाडौँ महानगरपालिका अहिले एक्सनमा उत्रिएको छ । महानगरपालिकाले महानगर मातहतका हरेक चोक र गल्लीमा रहेको होर्डिङ्ग बोर्डहरू धमाधम हटाइरहेको छ ।
काठमाडौँ महानगरपालिकाको आन्तरिक श्रोतमध्ये घरजग्गा कर र व्यावसायिक कर पछिको तेस्रो ठुलो करको रूपमा रहेको विज्ञापन, महानगर क्षेत्रको विभिन्न किसिमका होर्डिङ्ग बोर्ड, साइन बोर्ड, ग्लो साइन बोर्डहरू, कम्पनीको प्रयोजन बोर्डहरू र पोल ब्यानर आदि प्रचार प्रसारका लागि राखिने बोर्ड तथा सामाग्रीहरू व्यवस्थित, मर्यादित, सुरक्षित एवं सहरी सौदर्ययुक्त हुन नसकेकोमा आम नागरिक तथा सरोकारवालाहरूको चासोको विषय बन्दै गएको छ । यसले महानगर क्षेत्रमा राखिने प्रचार सामाग्री तथा होर्डिंङ बोर्डलाई आम्दानीको हिसाबले मात्र नहेरी यसले सहरी विकास, सुरक्षा व्यवस्था र वातावरण संरक्षणमा पार्न सक्ने नकारात्मक प्रभावप्रति महानगरपालिकाले समयमै सजगता अपनाइरहेको छ ।
बोर्डहरूमा ठुलो लगानी रहेको हुनाले डिजिटल बोर्डको संरचनाको मुद्दा उच्च अदालतमा विचारधिन रहेको छ । त्यस कारण पनि डिजिटल बोर्डमा अहिले सूचिकृतदेखि नवीकरणको कामहरू सबै ठप्प छन् । डिजिटल बाहेकका अन्य बोर्डहरू भने राख्न नपाइने नियम छ ।
अहिले काठमाडौँ महानगरपालिकाका राजु नाथ पाण्डे नेतृत्वको टोलीले अनधिकृत सबै होर्डिङ्गहरु हटाइरहेको छ । खबरपाटीको पछिल्लो समाचार वेब सर्फरको अनधिकृत होर्डिङ्ग बोर्डको बारेमा रहेको थियो । जसमा महानगरको वेब सर्फरको बोर्डसम्म आँखा पुग्न नसकेको खबर छापिएको थियो । हामीले निरन्तर खबरको प्रवाह गर्दा गर्दै पनि महानगरको आँखा चावाहिल चोक, कालो पुल कोरिडोर तथा बालाजु चोक स्थित घरको कौसीमा रहेको वेब सर्फरको होडिङ्ग बोर्डमा पुग्न सकेको थिएन । महानगर भित्र सबै बोर्डहरू हटाइरहेको बेला हामीलाई काठमाडौँ महानगरपालिकाले सानालाई पाखा र ठुलालाई काखा गरेको आभास भएको थियो । सोही कौतुहलताका आधारमा लेखिएको समाचार प्रति महानगरबाट मिश्रित प्रतिक्रियाहरू आइरहेको थियो ।
महानगरको विभिन्न व्यक्तिसँगको कुराकानीमा विभिन्न प्रतिक्रियाहरू आउने गरेको थियो । तर पनि वेब सर्फरको बोर्ड यथावत् नै राखिएको थियो । अन्त्यमा यस विषयलाई सम्बोधन गर्दै काठमाडौँ महानगरका नगर प्रहरीबाट मापदण्ड विपरीतको वेब सर्फरको बोर्ड हटाइने प्रतिबद्धता आएको छ । एक्सन म्यान राजु नाथ पाण्डेले कानुन माथि कोही पनि नरहेको जिकिर गर्दै यस्ता अनधिकृत बोर्डहरू सबै हटाइने बताए ।
यसरी सहरी सौन्दर्य र सुरक्षामा गम्भीर असर पर्ने गरी अव्यवस्थित ढङ्गले राखिएका होर्डिङ बोर्डहरू व्यवस्थित गर्ने उद्देश्यले कामपाको १९ औँ नगर परिषद्ले निर्मित भवन तथा भौतिक संरचनाको छतमा आर्थिक वर्ष २०६९/७० देखि होर्डिङ बोर्ड राख्न नपाउने निर्णय गर्दै घर भवनका छतमाथि होर्डिङ बोर्डहरू राख्न निषेध गर्यो । सोही व्यवस्थाअनुसार अहिले महानगर मातहतमा रहेको सबै अनधिकृत बोर्डहरू हटाइएको छ ।