काठमाडौं । पेरिस ओलम्पिक महिला फुटबल अन्तर्गत एशिया छनोटको पहिलो चरणको पहिलो खेलमा नेपाल भियतनामसँग पराजित भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार नेपाललाई भियतनामले ५-१ गोल अन्तरले हराएको हो ।

भियतनामको जितमा कप्तान हुन्ह न्हुले दुई गोल गरिन् । यस्तै फाम हाइ यन, एनगुएन थि बिच थुए र एनगुएन थि नाले एक एक गोल गरे ।
नेपालका सावित्रा भण्डारीले एक गोल फर्काईन् ।

खेलको ११ औं मिनेटमा फाम हाइ यनले गोल गर्दै भियतनामलाई शुरुवाती अग्रता दिलाएकी थिइन् । एनगुएन थि बिच थुएको क्रसमा यनले सहजै गोल गरिन् ।
खेलको ३६ औं मिनेटमा कप्तान हुन्ह न्हुले पेनाल्टीमार्फत गोल गर्दा भियतनामले २ ० को अग्रता बनायो । कप्तान न्हुकै प्रहारमा नेपालकी समिक्षा घिमिरेले ह्यान्डबल गरेपछि भियतनामले पेनाल्टीको अवसर पाएको थियो ।
३८ औं मिनेटमा एनगुएन थि बिच थुएले गोल गरेपछि पहिलो हाफमा भियतनाम ३-० ले अघि रह्यो ।
दोस्रो हाफमा भियतनामले थप दुई गोल गर्यो । नेपालले पनि एक गोल फर्कायो ।
खेलको ४८ औं मिनेटमा थि लोनको क्रसमा कप्तान न्हुले हेडरमार्फत गोल व्यक्तिगत दोस्रो गोल गरेपछि भियतनाम ४-० ले अघि रह्यो ।
खेलको ७९ औं मिनेटमा सावित्राले गोल गर्दै नेपाललाई ४-१ को स्थितिमा ल्याए । सरु लिम्बुको चलाखीपूर्ण पासमा सावित्राले दुई डिफेन्डरलाई पछि पार्दै गोल गरिन् ।
त्यसपछि खेलको इन्जुरी समयमा एनगुएन थिले गोल गर्दै भियतनामलाई ५-१ को जित दिलाईन् ।
त्यसबाहेक दुबै टोलीले केहि गोलको अवसरलाई सदुपयोग गर्न सकेनन् ।
खेलको सातौं मिनेटमा भियतनामका ट्रान थाइ थु थाओको क्रसमा फाम हाइ यनको फितलो प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो ।
खेलको नवौं मिनेटमा नेपालका अमिशा कार्कीले गोलको सुनौलो अवसर खेर फालिन् । दिपा शाहीको लामो पासमा उत्कृष्ट रन बनाएका अमिशाले भियतनामी गोलकिपर मात्र रहेको अवस्थामा पोस्टमाथिबाट प्रहार गरिन् ।

खेलको २० औं मिनेटमा भियतनामका फाम हाइको फ्लिक प्रहार पोस्टमा लागेर फर्किएको थियो । लगत्तै एनगुएन डुङको हेडर नेपालकी गोलकिपर अन्जिला सुब्बाले नियन्त्रणमा लिईन् ।
३४ औं मिनेटमा नेपालका अमिशा कार्कीको प्रहार भियतनामी गोलकिपर खोङ थि हांगले सहजै नियन्त्रणमा लिईन् ।
खेलको ८६ औं मिनेटमा नेपालका सावित्रा भण्डारीको प्रहार भियतनामी गोलकिपरले सहजै नियन्त्रणमा लिईन् ।
छनोटको समूह सी मा रहेको नेपालले अब शनिवार भियतनामसँग दोस्रो खेल खेल्नेछ ।